बङ्गलादेश चुनाव : मतदान केन्द्रबाहिर झडप हुँदा बीएनपी नेताकाे ज्यान गयाे

बङ्गलादेश चुनाव : मतदान केन्द्रबाहिर झडप हुँदा बीएनपी नेताकाे ज्यान गयाे



काठमाडौं । बङ्गलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता विद्यार्थी नेतृत्वको आन्दोलनले अन्त्य गरेको १८ महिनापछि पहिलो चुनाव सम्पन्न भएको छ ।

हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित भएकाले यस चुनावमा सहभागी हुन पाएन ।

चुनावमा मुख्य प्रतिस्पर्धा दक्षिणपन्थी बङ्गलादेश नेशनलिस्ट पार्टी र इस्लामवादी जमात–ए–इस्लामीको नेतृत्वमा रहेको गठबन्धनबीच रहेको बीबीसीले जनाएको छ । भोलिसम्म परिणाम आउने अपेक्षा छ ।

२ हजारभन्दा धेरै उम्मेदवार संसदीय सिटका लागि प्रतिस्पर्धामा थिए भने १२ करोड ७७ लाख मतदाता रहेका थिए । मतदाताले संविधान परिवर्तनसम्बन्धी जनमत सङ्ग्रहमा पनि मतदान गरेका छन् ।

मतदानपछि बोल्दै नाेबेल पुरस्कार विजेता अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले देशले नयाँ सपना शुरू गरेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

मतदानका क्रममा धेरै ठाउँमा झडप भएको थियो । खुलनाको एक मतदान केन्द्रबाहिर जमात–ए–इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का नेता मोहिबुज्जमान कोचीको ज्यान गएको छ ।

यस्तै मुन्सीगञ्ज र गोपालगञ्ज सदर क्षेत्रका मतदान केन्द्रहरूबाहिर झडपमा तीन जना घाइते भएका छन् ।

प्रतिनिधिसभाका कुल ३०० मध्ये २९९ सिटमा चुनाव भएको हो । एक उम्मेदवारको निधन भएपछि शेरपुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको छ ।

चुनावका लागि झन्डै १० लाख सुरक्षाकर्मी परिचालन भएका थिए ।