काठमाडौं । बंगलादेशको १३औँ संसदीय चुनावको मतगणना चलिरहँदा तारिक रहमान नेतृत्वको बीएनपीको स्पष्ट अग्रता रहेको छ ।
औपचारिक नतिजा भने त्यहाँको निर्वाचन आयोगले आजै बेलुकासम्म सार्वजनिक गर्ने अपेक्षा गरिएको अल जजिराले जनाएको छ ।
देशभर झन्डै ६१ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
यसपटकको चुनाव सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलोपटक भएको हो, जसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो ।
उनको दल अवामी लिग यसपटक प्रतिबन्धित भएपछि यो चुनावमा बीएनपी र जमात–ए–इस्लामीबीच प्रतिस्पर्धा भएको हो ।
अनौपचारिक विवरणअनुसार बीएनपीले ३०० सदस्यीय संसदमा आफूलाई बहुमत नजिक पुर्याएको भनिए पनि कति सिट प्राप्त गर्यो भन्ने औपचारिक विवरण आउन भने बाँकी रहेको खबरमा उल्लेख छ ।
पार्टीका नेताहरूले जितप्रति आशावादी रहेको भन्दै समर्थकहरूलाई उत्सव र्याली नगर्न र संयमित रहन आग्रह गरेका छन् ।
तारिक रहमानले शान्तिपूर्ण वातावरण कायम राख्न विशेष प्रार्थना गर्न निर्देशन दिएका खबरमा उल्लेख छ । जमात–ए–इस्लामीका प्रमुखले पनि ठूलो हस्तक्षेप नभए परिणाम स्वीकार गर्ने बताउनुभएको छ ।
चुनावसँगै ‘जुलाई बडापत्र २०२५’ सम्बन्धी जनमतसंग्रह पनि सम्पन्न भएको छ ।
प्रारम्भिक मतगणनाअनुसार झन्डै ७२ प्रतिशत मतदाता संवैधानिक सुधार प्रस्तावको पक्षमा देखिएका छन् ।
बडापत्रले प्रधानमन्त्रीका लागि कार्यकाल सीमा, राष्ट्रपतिको अधिकार विस्तार र चुनाव व्यवस्थामा सुधारजस्ता विषय समेटेको छ ।
यस चुनावलाई बंगलादेशमा लोकतान्त्रिक अभ्यास पुनःस्थापित गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरिएको छ ।
औपचारिक नतिजा सार्वजनिक भएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने खबरमा उल्लेख छ । यसअघि हिजो मतदानका क्रममा धेरै ठाउँमा झडप भएको थियो ।
खुलनाको एक मतदान केन्द्रबाहिर जमात–ए–इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का नेता मोहिबुज्जमान कोचीको ज्यान गएको छ ।
यस्तै मुन्सीगञ्ज र गोपालगञ्ज सदर क्षेत्रका मतदान केन्द्रहरूबाहिर झडपमा तीन जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


प्रतिक्रिया