काठमाडौं । अमेरिकाले धेरैपटक चीनले गोप्य रूपमा परमाणु परीक्षण गरेको दाबी गर्दै आएको छ । तर, चीनले त्यसलाई अस्वीकार गर्दै अमेरिकी आरोपलाई निराधार र सरासर झुट भएको बताउँदै आएको छ ।
तर, यसबीचमा चीनले आफ्नो परमाणु कार्यक्रमलाई विस्तार गरेको समाचार सार्वजनिक भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार चीनले परमाणु हतियार कार्यक्रमलाई तीव्र विस्तार गरिरहेको छ ।
बेइजिङले दक्षिण–पश्चिमी सिचुआन प्रान्तका पहाडहरूभित्र गुप्त रूपमा परमाणु हतियारसँग सम्बन्धित सुविधाहरूको व्यापक विस्तार गरिरहेको समाचारमा जनाइएको छ ।
न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्टमा २०२२ र २०२६ बीच लिइएका उपग्रह तस्बिरहरूको भू–स्थानिक विश्लेषणबाट दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा गोप्य परमाणु हतियार सुविधाहरूको उल्लेखनीय विस्तार भएको पत्ता लागेको जनाएको छ ।
जियोस्पेसियल विज्ञ रेनी बाबियार्जले साझा गरेका निष्कर्षहरूले सन् २०१९ देखि चीनको परमाणु निर्माण गतिविधिमा तीव्रता आएको संकेत गर्छन् । जसलाई रणनीतिक क्षमतामा एक महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
सिचुआनमा ‘जितोङ’ नामक एक स्थलमा उपग्रह तस्बिरहरूबाट उपत्यकाभित्र नयाँ निर्माण गरिएका बंकरहरू र पर्खालहरू देखिएका छन् ।
त्यहाँ बनेको नयाँ कम्प्लेक्समा ठूलो पाइपिङ पूर्वाधार रहेको छ, जसबारे विश्लेषकहरूको भनाइमा यो खतरनाक सामग्री ह्यान्डल गर्ने सुविधाहरूसँग मेल खान्छ ।


प्रतिक्रिया