बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने



काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ ।

भोलि हुने समारोहमा भाग लिएर शर्मा आउँदो बिहीवार स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गएको बिहीवार सम्पन्न चुनावमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ सिट जितेपछि पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्न लागेका हुन् ।

तारिक पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन् । उनी १७ वर्षपछि चुनावअघि मात्रै देश फर्किएका हुन् ।

विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको १८ महिनापछि बङ्गलादेशमा चुनाव भएको हो ।

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेपालसहित १३ वटा देशलाई निमन्त्रणा पठाए छ न् ।

बङ्गलादेशले नेपालसहित चीन, भारत, साउदी अरेबिया, टर्किए, पाकिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, मलेशिया, ब्रुनाई, माल्दिभ्स र भूटानलाई निमन्त्रणा पठाएको हो ।