काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर मध्यपूर्वको युद्ध चाँडै समाप्त हुने बताए पनि इरानले त्यसलाई अस्विकार गरेको छ । इरानका उप–विदेशमन्त्री काजेम घरिबाबादीले युद्धमा इरानको हात माथि रहेको दाबी गर्दै अब युद्ध अन्त्य गर्नेबारे इरानको निर्णय महत्त्वपूर्ण हुने बताएका हुन् ।
अमेरिका–इजरायलले युद्ध शुरू गरेर गलत गरेको भन्दै उनले अब युद्धको अन्त्य इरानले गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ ।
यसैबीच इरानको इस्लामिक रिभोल्युशनरी गाड्र्स कोप्र्स (आईआरजीसी)ले अमेरिका–इजरायलविरुद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गर्ने बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल कार्यक्रम ध्वस्त भइसकेको दाबी गरेका थिए । तर, आईआरजीसीले दाबी खण्डन गर्दै आफूसँग शक्तिशाली मिसाइलहरु रहेको दाबी गरेको हो ।
ट्रम्पले हर्मुज मार्गबाट तेल ट्याङ्कर रोक्ने प्रयत्न भएमा इरानमाथि २० गुणा शक्तिशाली प्रहार गरिने चेतावनी पनि दिनुभएको थियो । तर इरानले यस्ता धम्कीका कारण युद्धमा आत्मसमर्पण नगर्ने जनाएको छ । इरानले बहराइन, कुवेत, यूएई, साउदी अरबसहित पश्चिम एशियाका विभिन्न क्षेत्रमा प्रत्याक्रमण जारी राखेको छ ।
आज बहराइनको मनामामा एक जनाको ज्यान गएको छ भने इजरायलको राजधानी आसपास दुई जनाको ज्यान गएको छ । गएराति अमेरिकाले गरेको आक्रमणमा इरानको तेहरानमा रहेको रिसालात स्क्वायर नजिकै कम्तिमा ४० जनाको ज्यान गएको छ । त्यसैगरी लेबनानमा इजरायल र हिजबुल्लाहबीच लडाइँ चलिरहेको छ । इजरायली आक्रमणबाट लेबनानमा मात्रै ४ सय ८६ जना भन्दा धेरैको ज्यान गएको छ ।


प्रतिक्रिया