तीन अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी

तीन अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी



तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को नौसेनाले तीन अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण गरेको दाबी गरेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीका नौसेना प्रमुख एडमिरल अलिरेजा तंगसीरीले आक्रमणमा अबुधाबीको अल–धफरा एयरबेस र बहराइनको शेख ईसा एयरबेसलाई निशाना बनाइएको बताएका छन् ।

तंगसीरीका भनाइमा प्याट्रियट राडार प्रणाली, सैन्य विमान र विमानका इन्धन भण्डारण ट्याङ्कीहरूमाथि आक्रमण भएका थिए ।

यद्यपि, यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

यसैबिच अमेरिकाले इरानका थप केही टापुहरूमाथि सैन्य कारबाही गर्न सक्ने बताएको छ । खार्ग टापुलाई यसअघि नै निशाना बनाइसकेको छ । अल जजिराको रिपोर्टअनुसार अर्को निशाना अबु मुसा टापु हुन सक्नेछ ।

अमेरिकी सेनाले खार्ग टापुमा आक्रमणको भिडियो सार्वजनिक पनि गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यो व्यापक र सटीक आक्रमण थियो । खार्ग टापु इरानको तेल निर्यातको प्रमुख केन्द्र हो ।

युद्धअघि इरानको कुल कच्चा तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा यसै टापुबाट हुने गर्दथ्यो ।