वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित युद्धविराम सम्झौताका सर्त अझै पर्याप्त नभएको बताएका छन् । शनिबार एक अन्तर्वार्तामा उनले इरानले सम्झौता गर्न चाहेको भए पनि हाल प्रस्तुत गरिएका सर्त आफूलाई स्वीकार्य नभएको बताए ।
उनका अनुसार सम्भावित सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेछ । ट्रम्पले युद्धविरामका लागि इरानले आणविक कार्यक्रम सम्बन्धी महत्वाकांक्षा पूर्णरूपमा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने कुरा पनि सर्तका रूपमा हुन सक्ने सङ्केत दिए । तर उनले आफ्ना सबै सर्त के-के हुन् भन्ने खुलाएका छैनन् ।
यो टिप्पणी संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेको करिब दुई हप्तापछि आएको हो । ती आक्रमणका कारण विश्वव्यापी जहाज आवागमनमा अवरोध, तेलको मूल्य वृद्धि तथा विश्व अर्थतन्त्रमा असर परेको बताइएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा विश्व ऊर्जा बजार र आर्थिक क्षेत्रमा प्रभाव अझ बढ्दै गएको बताइएको छ ।
ट्रम्पले युद्धबाट प्रभावित देशलाई हर्मुज जलडमरू सुरक्षित र खुला राख्न सहयोग गर्न आग्रह गरे । उनका अनुसार केही देशले उक्त मार्ग सुरक्षित राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, तर उनले ती देशहरूको नाम भने खुलाएका छैनन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि जलडमरू हुँदै तेल प्राप्त गर्ने देशलाई उक्त मार्गको सुरक्षामा ध्यान दिन आग्रह गरे । साथै, उनले धेरै देशले जलडमरू खुला राख्न युद्धपोत पठाउने सम्भावना रहेको सङ्केत दिएका छन् ।


प्रतिक्रिया