इरानद्वारा यूएईमा १९०० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण

इरानद्वारा यूएईमा १९०० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण



काठमाडौं । मध्यपूर्वमा युद्ध सुरु भएयता इरानले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १,९०० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरिसकेको जनाएको छ । ती आक्रमणहरू विशेषगरी यातायात र तेलसम्बन्धी संरचनाहरूलाई लक्षित गरिएको बताइएको छ ।

सोमबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ‘ड्रोनसँग सम्बन्धित घटना’पछि आगलागी हुँदा केही समयका लागि उडानहरू स्थगित गरिएको थियो । यो विमानस्थल विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई केन्द्रमध्ये एक मानिन्छ ।

त्यसैगरी ड्रोन आक्रमणका कारण फुजैराहको महत्वपूर्ण बन्दरगाहमा पनि आगलागी भएको छ । उक्त क्षेत्र मध्यपूर्वकै प्रमुख तेल भण्डारण केन्द्रहरूमध्ये एक हो ।

अबू धाबी बाहिरको क्षेत्रमा एक कारलाई लक्षित गरी गरिएको रकेट आक्रमणमा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ ।

इरानका जवाफी आक्रमण सुरु भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पटक–पटक आक्रमण भइरहेका छन्, जसका कारण उडानमा ढिलाइ र सञ्चालनमा अवरोध उत्पन्न भएको छ। फेब्रुअरी अन्त्यतिर दुबईको एक विलासी होटलमा पनि आक्रमण भएको थियो ।

बीबीसीकी संवाददाता अजादेह मोशिरीले बीबीसी ग्लोबल न्यूज पोडकास्टमा बोल्दै यूएईलाई ‘बिना कारण युद्धमा तानिएको’ महसुस भइरहेको बताएकी छन् ।

उनले भनिन्, ‘इरानले यस्तो दबाब सिर्जना गरेर यहाँका नेताहरूलाई अमेरिका माथि युद्ध अन्त्य गर्न दबाब दिन बाध्य पार्ने सोच्न सक्छ, तर वास्तविकता के हो भने यहाँका अधिकारीहरू अत्यन्त आक्रोशित छन् ।’