इरानी ड्रोनविरुद्ध खाडी क्षेत्रमा २०० भन्दा बढी युक्रेनी विज्ञ तैनाथ

इरानी ड्रोनविरुद्ध खाडी क्षेत्रमा २०० भन्दा बढी युक्रेनी विज्ञ तैनाथ



तेहरान । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले खाडी क्षेत्र तथा मध्यपूर्वमा इरानी ड्रोन आक्रमणको सामना गर्न २०० भन्दा बढी युक्रेनी सैन्य विज्ञहरू परिचालन गरिएको बताएका छन् । लन्डनमा बेलायती संसद्का सांसदहरूलाई सम्बोधन गर्दै उनले २०१ जना एन्टी–ड्रोन विशेषज्ञहरू अहिले क्षेत्रमै सक्रिय रहेको र थप ३४ जना पठाउन तयार अवस्थामा रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार यी विशेषज्ञहरू इरानद्वारा डिजाइन गरिएका कामीकाजे ड्रोन—विशेष गरी शाहेद–१३६ ड्रोनको प्रतिकारमा दक्ष छन् । यस्ता ड्रोनहरू रुसले २०२२ देखि युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्दै आएको छ ।

युक्रेनी टोलीहरू संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरबमा तैनाथ भइसकेको र कुवेततर्फ जाने क्रममा रहेको जेलेन्स्कीले बताए । साथै अन्य देशहरूसँग पनि सहकार्यका सम्झौताहरू भइसकेको उनको भनाइ छ ।

उनले इरानले रुसलाई ड्रोन प्रविधि उपलब्ध गराएको र त्यसलाई अझ उन्नत बनाइएको दाबी गरे । हाल मध्यपूर्वमा प्रयोग भइरहेका केही ड्रोनहरूमा रुसी कम्पोनेन्टसमेत भेटिएको उनको दाबी छ ।

यसैबिच जेलेन्स्कीले आफ्नो देशको ड्रोन युद्ध क्षमतामा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै युक्रेन मोर्चामा रुसी क्षतिको करिब ९० प्रतिशत हिस्सा ड्रोन आक्रमणबाट भइरहेको दाबी गरे ।

उनले इरान र रुसबिचको सैन्य सहकार्यलाई घृणामा आधारित साझेदारी भन्दै आलोचना गरेका छन् । साथै, यस्तो सहकार्यविरुद्ध अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको पनि उनले बताएका छन् ।