चितवन । गएको चैत २ गतेको हावाहुरीका कारण चितवनमा ४ करोड रुपैयाँभन्दा धेरैको केराखेतीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार हावाहुरीले क्षति गरेको केराखेतीमा अस्ति र हिजो अनुगमन गरिएको थियो ।
चितवनका २० वटा फार्ममा अनुगमन गरिएको रेग्मीले बताउनुभयो । हावाहुरीले भरतपुर महानगरपालिकाको वडा ७ र २३, रत्ननगर नगरपालिकाको वडा ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा १३, कालिकाको वडा २ देखि ५ सम्मका क्षेत्रमा धेरै क्षति पुर्याएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख रेग्मीका अनुसार बगानमा १ प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको पाइएको छ । हावाहुरीले मालभोग केरामा ७८ प्रतिशत र जी–नाइन केरामा २२ प्रतिशतसम्म क्षति भएको छ ।
केरा सुपरजोन चितवनका संयोजक विष्णुहरि पन्तका अनुसार गएको वर्षको क्षतिपूर्ति रकम समेत किसानले अहिलेसम्म पाउन सकेका छैनन् ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार चितवनमा व्यवसायिक रूपमा ७ सय किसानले केराखेती गर्दै आएका छन् ।


प्रतिक्रिया