काठमाडौं । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले फागुनमा ५०२ वटा विपद्जन्य घटना भएको र ती घटनाबाट १८ को मृत्यु र १२४ जना घाइते भएको जानकारी दिए ।
मृत्यु हुनेमा पाँच पुरुष, नौ महिला र चार जना बालबालिका छन् । यसैगरी घाइते हुनेमा ५३ पुरुष, ५३ महिला र १८ जना बालबालिका रहेका छन् । ती विपद्मा ७४ वटा घर, ३५ वटा गोठमा क्षति पुगेको र १०६ वटा पशुचौपाय मरेको प्रहरी मुख्यालयले जनाएको छ । ती विपद्बाट ५० परिवार विस्थापित भएका छन् ।
मुख्यगरी आगलागी, चट्याङ, जनावर आक्रमण, महामारी, हुरीबतास, हिमपात, लेक लाग्ने, सर्पदंशलगायत घटनाबाट उक्त क्षति भएको हो ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार फागुनमा सबैभन्दा बढी विपद्का घटना कोशीमा १४३ वटा घटेको छ । मधेस प्रदेशमा १०६, बागमती प्रदेशमा ३३, काठमाडौँ उपत्यकामा ३५, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ४२ वटा विपद्का घटना भएका छन् ।
ती विपद्का घटनाबाट करिब १५ करोडभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको पनि प्रवक्ता काफ्लेले बताए ।


प्रतिक्रिया