इजरायली आक्रमणमा इरानी रिभोलुसनरी गार्डका प्रवक्ता जनरल नैनीको मृत्यु

इजरायली आक्रमणमा इरानी रिभोलुसनरी गार्डका प्रवक्ता जनरल नैनीको मृत्यु



काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का प्रवक्ता जनरल अली मोहम्मद नैनीको शुक्रबार हवाई आक्रमणमा परी मृत्यु भएको छ ।

आईआरजीसीको जनसम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टि गरेको छ । रिपोर्टहरूका अनुसार, नैनीलाई हालैको एक आक्रमणमा निसाना बनाइएको थियो, यद्यपि, उक्त आक्रमणका बारेमा विस्तृत विवरणहरू हालसम्म सार्वजनिक भइसकेका छैनन् ।

विभिन्न समाचार एजेन्सीहरूका अनुसार, इरानी सरकारी सञ्चारमाध्यम ‘मेहर’ले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ । एएफपीले गाड्र्सको आधिकारिक वेबसाइटले ‘सेपाह न्यूज’लाई उद्धृत गर्दै अमेरिकी–इजरायली पक्षद्वारा गरिएको आपराधिक, कायरतापूर्ण आतंकवादी हमलामा नैनी आज बिहान शहीद भएको बताएको छ ।

स्थानीय सञ्चारमाध्यममा उनले अमेरिका र इजरायलविरुद्ध दिएको अभिव्यक्ति सार्वजनिक भएको केही घण्टापछि नै उनको मृत्यु भएको बताइएको छ । ‘फार्स न्यूज एजेन्सी’का अनुसार, नैनीले भनेका थिए, “हाम्रो मिसाइल उद्योग पूर्ण अंक पाउन योग्य छ र यस सम्बन्धमा कुनै चिन्ता छैन, किनभने युद्धको अवस्थामा पनि हामीले मिसाइल उत्पादन जारी राखेका छौँ ।”