काठमाडौं । विश्व व्यापार सङ्गठन डब्ल्यूटीओले सन् २०२६ मा विश्व व्यापार वृद्धिदर उच्च रूपमा घट्ने प्रक्षेपण गरेको छ । डब्ल्यूटीओको प्रतिवेदन ‘ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिस्टिक्स–२०२६’ अनुसार सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर १.९ प्रतिशतमा सीमित रहनेछ, जबकि सन् २०२५ मा यस्तो वृद्धिदर ४.६ प्रतिशत थियो ।
समग्रमा वस्तु र सेवाको व्यापार सन् २०२५ को ४.७ प्रतिशतको तुलनामा सन् २०२६ मा २.७ प्रतिशतमा झर्नेछ भने विश्वव्यापी जीडीपी वृद्धिदर पनि सन् २०२५ को २.९ प्रतिशतबाट थोरै घटेर २.८ प्रतिशत रहने अनुमान छ ।
सन् २०२५ मा व्यापार वृद्धिको मुख्य कारण एआईसँग सम्बन्धित सेमिकन्डक्टर, सर्भर र दूरसञ्चार उपकरणको माग तीव्र रूपमा बढ्नु थियो, तर यो कारक सन् २०२६ मा कायम नरहने डब्ल्यूटीओका अर्थशास्त्रीहरूले बताएका छन् ।
मध्यपूर्व द्वन्द्वले होर्मुजको जलमार्ग झन्डै ठप्प पारेको, ४० हजारभन्दा बढी उडान रद्द भएको र ऊर्जा तथा बीमा लागत बढेकाले व्यापारमा थप दबाब परिरहेको प्रतिवेदनमा उल्लेख छ ।
कच्चा तेल र एलएनजीको मूल्य उच्च नै रहे वस्तु व्यापार र जीडीपी वृद्धि दुवै थप खुम्चने चेतावनी दिँदै प्रतिवेदनले द्वन्द्व छिट्टै समाधान भई एआई खर्च जारी रहेमा व्यापार वृद्धि अनुमानभन्दा राम्रो रहन सक्ने सम्भावना पनि औँल्याएको छ ।


प्रतिक्रिया