मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती सेवा समाजद्वारा सोमबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनका अनुसार आव २०८०र८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो भने चालु आवको हालसम्म ३५ जनाको मृत्यु भएको हो । जिल्लामा चालु आवको हालसम्म ९०९ क्षयरोगका सङ्क्रमित देखिएकामा गत आवमा एक हजार २२२ सङ्क्रमित फेला परेका थिए ।
मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेका छन् । सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ नेपालमा मङ्गलबार विश्व क्षयरोग दिवस मनाइँदै छ ।
यस उपलक्ष्यमा मङ्गलबार मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेजबाट क्षयरोग सम्बन्धमा जनचेतना जागृत गराउन प्रभातफेरीले टङ्कीसिनवारी नगरक्षेत्र परिक्रमा गरी कोणसभा गरिने कार्यक्रम तालिका रहेको सोही अवसरमा जानकारी गराइएको छ ।


प्रतिक्रिया