हर्मुज तनाव : अमेरिकी सैन्य उपस्थिति भएका ठाउँबाट टाढा रहन नागरिकलाई इरानको चेतावनी

हर्मुज तनाव : अमेरिकी सैन्य उपस्थिति भएका ठाउँबाट टाढा रहन नागरिकलाई इरानको चेतावनी



काठमाडौं । मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गसम्बन्धी समयसीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गार्ड्स कोप्र्स (आईआरजीसी) ले त्यस क्षेत्रका सर्वसाधारणलाई अमेरिकी सैन्य उपस्थिति भएका ठाउँबाट टाढा रहन कडा चेतावनी दिएको छ । आईआरजीसीले अमेरिकी सेना तैनाथ रहेका क्षेत्रहरू, विशेषगरी होटलजस्ता ठाउँहरू सम्भावित निशाना बन्न सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ट्रम्पले इरानलाई हर्मुज खोल्न आग्रह गर्दै ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको चेतावनी दिँदै आएको समयसीमालाई आउँदो अप्रिल ६ सम्म सार्ने निर्णय गर्नुभएको थियो । उहाँले इरानकै अनुरोधमा यस्तो कदम चालेको र युद्ध अन्त्यका लागि वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ बताउनुभयो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेयता क्षेत्रीय द्वन्द्व चर्किंदै गएको छ ।

तर इरानले भने आफ्ना शर्तमा मात्र युद्ध अन्त्य गर्ने सङ्केत दिँदै प्रतिशोधात्मक आक्रमणलाई निरन्तरता दिएको छ ।

तेल बजार र विश्व अर्थतन्त्रमा मध्यपूर्व तनावको प्रभाव देखिन थालेको छ । हर्मुजमार्फत ऊर्जा आपूर्ति अवरुद्ध हुने जोखिमले मूल्य अस्थिर बनेको छ । जापानले ऊर्जा सङ्कटको सम्भावना देख्दै कोइलाबाट चल्ने विद्युत् उत्पादनमा अस्थायी रूपमा प्रतिबन्ध हटाउने तयारी गरेको छ भने भियतनामले इन्धन कर अस्थायी रूपमा हटाएको छ ।

अमेरिका–इरानबीच अप्रत्यक्ष वार्ताको प्रक्रिया पनि अघि बढिरहेको छ । १५ बुँदे अमेरिकी प्रस्ताव पाकिस्तानमार्फत तेहरानसम्म पुगेको र इरानले त्यसमा प्रतिक्रिया दिइसकेको खबरमा उल्लेख छ । इरानले युद्ध क्षतिपूर्ति र स्ट्रेट अफ हर्मुजमा आफ्नो सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग अघि सारेको छ । साथै इरानले अमेरिका र इजरायली आक्रमणहरू अन्त्य हुनुपर्ने शर्त पनि राखेको छ ।

यसैबीच इजरायलले इरानका विभिन्न क्षेत्रमा नयाँ आक्रमण तीव्र पारेको छ । तेहरान, कोम र उर्मियामा आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलभित्रै भने युद्धको रणनीतिमाथि प्रश्न उठ्न थालेका छन् । विपक्षी नेता यायर लापिडले सेना धेरै मोर्चामा फैलिँदा क्षति बढिरहेको बताए ।

दक्षिणी लेबनानमा हिज्बुल्लाहसँगको लडाइँका कारण इजरायली सेनाले थप सैनिक आवश्यक रहेको जनाएको छ । लेबनानको बेरुत क्षेत्रमा पनि नयाँ हवाई आक्रमण भएको छ भने हिज्बुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ ।