काठमाडौं । अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई विभिन्न देशले समर्थन गरेका छन् ।
इस्लामावादमा भेला भएका साउदी अरब, टर्कीए र इजिप्टका विदेश मन्त्रीले पाकिस्तानको पहललाई पूर्ण समर्थन जनाएका हुन् । टर्कीएका विदेशमन्त्री हाकान फिदान, इजिप्टका बद्र अब्देलट्टी तथा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान इस्लामावादमा भेला भएका हुन् ।
पाकिस्तानका उपप्रधान एवं विदेश मन्त्री मोहम्मद इशाक डारले एक सन्देशमार्फत सहभागीले वार्ता र कुटनीति नै दिगो शान्ति प्राप्त गर्ने एक मात्र व्यावहारिक मार्ग भएकोमा सहमति जनाएका बताए । मध्यपूर्वमा थप सैन्य तनाव रोक्न आवश्यक रहेकोमा छलफलमा सहभागी विदेशमन्त्रीले जोड दिएका छन् ।
डारले भ्रमणमा आएका विदेश मन्त्रीहरूलाई अमेरिका र इरानबीच हुनसक्ने सम्भावित वार्ताको सम्भावनाबारे जानकारी गराएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मध्यपूर्वको युद्ध समाधानका लागि पाकिस्तानले कूटनीतिक सक्रियता बढाएको हो ।
यसका लागि थप समन्वय बढाउन पाकिस्तानसहित चार वटै देशका विदेश मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित एक समिति गठन गर्ने निर्णय पनि भएको छ ।
बैठक क्षेत्रीय परिस्थितिको विकास र तनाव कम गर्ने तथा जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा केन्द्रित थियो ।


प्रतिक्रिया