अमेरिकाद्वारा इरानको हतियार भण्डारमा भीषण हमला

अमेरिकाद्वारा इरानको हतियार भण्डारमा भीषण हमला



काठमाडौं । इरानमा युद्ध अन्त्यको झिनो आशाबीच अब यो युद्ध विनाशकारी मोडतर्फ अघि बढेको छ । इरानसँग वार्ता सकारात्मक रूपमा अघि बढेको भन्दै १० दिन इरानमाथि हमला नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको केही दिनभित्रै इरानमाथि भीषण हमला भएको छ ।

अमेरिकाले इरानको इफहानस्थित विशाल हतियार भण्डारणमा सोमबार राति २ हजार पाउण्डको बंकर बस्टर बम प्रयोग गरेर हमला गरेको हो ।

इरानमाथि हमलापछि हिज्बुल्लाह र त्योभन्दा बलियो सैन्य शक्ति हुथीसमेत सामेल भएकाले अब यो युद्ध झनै तीव्र बन्ने दिशामा गएको हो । यो हमलाले अमेरिका र ट्रम्पको अविश्वसनीय छवि फेरि एकपटक उजागर भएको छ । अमेरिकामा ट्रम्पविरुद्ध ९० लाखभन्दा बढी नागरिक सडकमा उत्रिएका बेला यो आन्दोलनलाई ओझेलमा पार्न पनि अमेरिकाले इरानमाथि ठूलो हमला गरेको हुनसक्ने विश्लेषकहरूको दाबी छ ।

अमेरिकी अधिकारीहरूले यो हतियार डिपोमा ठूलो मात्रामा हतियार र सैन्य सामग्री रहेको र त्यसलाई बंकर बस्टर बमले निशाना बनाएको दाबी गरेका छन् । बंकर बस्टर बमको प्रयोग बलियो र भूमिगत क्षेत्रलाई निशाना बनाउन गर्ने गरिन्छ । यो हमलापछि सो क्षेत्रमा केही विस्फोटका आवाज सुनिनुका साथै विशाल आगोका मुस्लो देखिएको छ ।

इरानमा मात्रै होइन, यस्ता घटना अब पश्चिम एसियामा साउदी अरब, इजरायल, लेबनानसहितका देशमा समेत देखिन थालेका छन् । जसले इरान यद्ध अब तीव्र रूपमा फैलिएको र नयाँ मोडतिर गएको संकेत गर्छ । इरानले इजरायल र पश्चिम एसियाका अन्य देशमाथि एकसाथ सिधा निशाना बनाएर हमला तीव्र पार्दा हुथी र हिज्बुल्लाहले पनि यो क्षेत्रमा हमला बढाएका छन् ।