तेहरान । इरानका राष्ट्रपति मसुद पेजेश्कियनले अमेरिका र इजरायलसँगको जारी द्वन्द्व अन्त्य गर्न आफ्नो देशसँग आवश्यक इच्छाशक्ति रहेको बताएका छन् ।
उनले केही सर्तहरू पूरा भएमा मात्र युद्ध अन्त्य सम्भव हुने स्पष्ट पारेका छन् । मंगलबार यूरोपेली परिषद्का अध्यक्षसँग भएको टेलिफोन संवादका क्रममा उनले यस्तो अभिव्यक्ति दिएको भन्दै इरानी सरकारी सञ्चारमाध्यमले समाचार छापेका छन् । उनको भनाइ सार्वजनिक भएसँगै अमेरिकी बजारमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।
पश्चिमी देशहरूमा मध्यमार्गी नेताको रूपमा हेरिने पेजेश्कियनको यस्तो टिप्पणीले केही आशा जगाएको भए पनि इरानको शासन प्रणालीमा राष्ट्रपतिको भूमिका सीमित मानिन्छ । वास्तविक शक्ति भने कडा धारका धार्मिक नेतृत्वसँग रहने भएकाले उनको भनाइले तत्काल नीतिगत परिवर्तन ल्याउने सम्भावना कम देखिन्छ ।
यद्यपि द्वन्द्व अन्त्यको इच्छासँगै उनले महत्वपूर्ण सर्त पनि अघि सारेका छन् । इरानले भविष्यमा पुनः संघर्ष नदोहरिने सुनिश्चितता माग गरेको छ ।
यस्तो माग गत साता अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे शान्ति योजनाको जवाफमा पनि समावेश भएको बताइएको थियो । यसैबीच, शक्तिशाली इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले भने अझै कडा धार कायम राखेको संकेत दिएको छ । उसले प्रतिशोधको दायरा विस्तार गर्दै अमेरिकी प्रविधि कम्पनीहरूलाई समेत लक्षित गर्न सकिने चेतावनी दिएको छ ।


प्रतिक्रिया