मध्यपूर्व तनावकाबीच व्यापार व्यवस्थापनलाई आकार दिन रूस तयार

मध्यपूर्व तनावकाबीच व्यापार व्यवस्थापनलाई आकार दिन रूस तयार



काठमाडौं । रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमको बीचमा विश्वव्यापी व्यापार व्यवस्थापनलाई पुनः आकार दिनका लागि समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

यसै हप्ता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात व्यवस्थापन मामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उनले विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेकाले यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको बताए ।

इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको भन्दै राष्ट्रपति पुटिनले देश र कम्पनीहरूले गति र लागतमा मात्र नभइ यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेको उल्लेख गुरे ।

उनले यातायात र ब्यापारको विकासलाई समर्थन गर्न, संयुक्त वैज्ञानिक र प्राविधिक कार्यक्रम पछ्याउन र विशेषज्ञहरूलाई तालिम दिन रूसको तत्परता रहेको बताए ।