काठमाडौं । मध्यपूर्वमा इजरायल र लेबनानबीचको तनाव थप गहिरिँदै गएको छ ।
यही समयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग छिट्टै प्रत्यक्ष वार्ता शुरु गर्न आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिएको बीबीसीले जनाएको छ ।
यस्तै लेबनानका प्रधानमन्त्री नवाफ सलामले पनि इजरायली आक्रमण रोक्न अन्तर्राष्ट्रिय समर्थन खोज्दै पाकिस्तानसँग सहयोगको माग गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज शरीफले लेबनानमाथि इजरायली आक्रमणको निन्दा गर्दै लेबनानप्रति ऐक्यबद्धता जनाएका छन् । पाकिस्तान यसअघि पनि क्षेत्रीय कूटनीतिमा सक्रिय रहँदै आएको छ ।
विशेषगरी अमेरिका-इरान युद्धविराम सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलेको आधारमा लेबनानले पाकिस्तानसँग सहयोगको अपेक्षा गरेको हो ।
अहिले एकातर्फ वार्ताको सम्भावना देखिए पनि अर्कोतर्फ सैन्य गतिविधि जारी रहनुले क्षेत्रीय शान्ति अझै अनिश्चित बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता अनुसार नचलेको भन्दै हर्मुज मार्गमा जहाजबाट शुल्क नलिन चेतावनी दिएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हिजो मात्रै लेबनानमा ३०० भन्दा धेरैको ज्यान गएको छ भने १ हजारभन्दा धेरै घाइते भएका छन् ।
अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा आज इस्लामाबादमा उच्चस्तरीय वार्ता हुने भनिए पनि यसबारे अझै अन्योल देखिएको छ ।


प्रतिक्रिया