जर्मनीबाट ५ हजार अमेरिकी सेना फिर्ता, अमेरिका-युरोप सम्बन्धमा तनाव

जर्मनीबाट ५ हजार अमेरिकी सेना फिर्ता, अमेरिका-युरोप सम्बन्धमा तनाव


ग्लोब नेपाल
0
Shares

एजेन्सी । इरान युद्धको विषयलाई लिएर युरोपसँग मतभेद चुलिँदै जाँदा अमेरिकाले जर्मनीबाट आफ्ना ५ हजार सेना फिर्ता गर्ने निर्णय गरेको छ। रोयटर्सका अनुसार जर्मन चान्सलर फ्रेडरिक मर्जसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादपछि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले यस्तो निर्णय गरेको हो।

गत सोमबार मर्जले इरानसँग सम्बन्धित युद्ध अन्त्यका लागि भइरहेको वार्तामा अमेरिकाको रणनीतिमाथि प्रश्न उठाउँदै वासिङ्टनको स्पष्ट निकास योजना नदेखिएको टिप्पणी गरेका थिए। त्यसपछि ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्ने चेतावनी दिएका थिए।

पेन्टागनका एक वरिष्ठ अधिकारीले जर्मनीको अभिव्यक्तिलाई “गलत र अनुपयुक्त” भन्दै राष्ट्रपतिको प्रतिक्रिया उचित रहेको बताएका छन्।

पेन्टागनका अनुसार सेना फिर्ता प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। हाल जर्मनीमा करिब ३५ हजार अमेरिकी सैनिक तैनाथ छन्, जुन युरोपमा सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति हो।

यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई करिब सन् २०२२ अघिको स्तरमा झार्ने बताइएको छ।