सुनसरीको देवानगञ्जमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, १६ घाइते

सुनसरीको देवानगञ्जमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, १६ घाइते


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई समूहबीचको झडप क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । राति भएको झडपमा प्रहरी र प्रदर्शनकारीसहित १६ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएको बताइएको छ ।