एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

एक्कासि उर्लिएको थियो खहरे


ग्लोब नेपाल
0
Shares

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका-१० अर्मामा अविरल वर्षा, असिना र हावाहुरीपछि आएको बाढीले एक घर बगाएको छ भने दुई घर ढलेका छन्। बाढी र असिनाबाट पशुचौपाया, धानबाली तथा खानेपानीका संरचनामा समेत क्षति पुगेको छ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले प्रशासनलाई दिएको पछिल्लो जानकारीअनुसार बाढीले एक घर बगाएको र दुई घर ढलेको प्रारम्भिक जानकारी आएको बताएका छन्।

पशुचौपायातर्फ सात बाख्रा, तीन खसी, दुई गोरु र चार भैँसी गरी १६ वटा पशुचौपाया मरेका छन्। खानेपानीका दुईवटा ट्यांकीमा समेत क्षति पुगेको गौतमले जानकारी दिए। असिनाले स्थानीयको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ।

एक्कासि उर्लिएको थियो खहरे
यसअघि स्थानीयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब तीन घण्टासम्म परेको अविरल वर्षा, असिना र हावाहुरीपछि खहरे खोला एक्कासि उर्लिएको थियो। बाढी बस्तीमा पस्न थालेपछि स्थानीय ज्यान जोगाउन जंगलतर्फ भागेका थिए।

भूकम्पपछि जीर्ण अवस्थामा रहेका घर तथा संरचनासमेत वर्षा र बाढीबाट थप प्रभावित भएका छन्। घटनामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।