काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा काठमाडौंले सुरुवातमै डेभिड वार्नर (१६) र स्मित पटेल (९) को विकेट गुमाएको थियो । त्यसपछि राशिद खान र कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जिततर्फ अघि बढाए ।
राशिदले ३३ बलमा ५० रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । करण केसीले मात्र २० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन बनाए । त्यस्तै जहान्दाद खानले १० बलमा अविजित २२ तथा सन्तोष यादवले ३ बलमा अविजित ५ रन बनाए ।
कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, हुसेन तलत, भिम शार्की र अरिफुल इस्लामले समान १ विकेट लिए । यससँगै काठमाडौंले कर्णालीलाई हराउँदै प्रतियोगितामा महत्त्वपूर्ण जित दर्ता गरेको छ ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले सुरुवाती ६ ओभरमा ६५ रन बनाउँदै आक्रामक सुरुवात गरेको थियो । ओपनर अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाए ।
उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै हुसेन तलतले ३० बलमा ४०, पवन सर्राफले २४ बलमा अविजित ३० तथा गुलशन झाले १२ बलमा २० रन जोडे । मार्क वाटले २० बलमा १७ र कप्तान सोमपाल कामीले अविजित १ रन बनाए ।
काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । त्यस्तै शाहाब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट लिए ।


प्रतिक्रिया