बाह्र मोटरसाइकलसहित आठजना पक्राउ

बाह्र मोटरसाइकलसहित आठजना पक्राउ


ग्लोब नेपाल
216
Shares

झापा । मोटरसाइकल चोरी आरोपमा झापामा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित सार्वजनिक गरेको छ ।

पक्राउ परेका आरोपितहरुमा गौरीगञ्ज गाउँपालिका-५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका-५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका-५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ रहेका छन् ।

केही महिना अगाडिदेखि इलाका प्रहरी कार्यालय अनारमनीमा मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरीले टोली खटाएर सूक्ष्मरूपमा अभियुक्तको पहिचान तथा खोज तलास गर्ने काम गर्दै आएको थियो । आरोपितहरुले मोटरसाइकल चोरी गर्दै ग्यारेजमा थुपार्ने गरेको पाइएको छ ।

खोज तलास गर्दै जाँदा प्रहरीले अर्जुनधारा-८ कदमगाछीस्थित अशोक विहारीको घरमा रहेको ग्यारेज र वडा नं १० स्थित विमल हुमागाईंको घरमा सञ्चालित करण महमदको मोटरसाइकल ग्यारेजबाट र अन्य विभिन्न स्थानबाट चोरीका १२ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।