काठमाडौं । गृहमन्त्री नभएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुशी बनाएर प्रहरी अस्पताल महाराजगन्जले १० वर्ष पुरानो मोडेलको एमआरआई मिसिन किन्न सेटिङ मिलाएको छ । प्राविधिकको असहमति रहँदारहँदै कमिसनको लोभमा किन्न लागिएको उक्त एमआरआई मेसिनबाट १० करोड रुपैयाँ घोटाला गर्ने योजना बनाइएको प्रहरी श्रोतले ग्लोब नेपाललाई जानकारी दिएको छ ।
यही चैत्र १० गते अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको व्यक्तिगत इच्छामा प्रहरी अस्पतालले यो पुरानो मोडेलको एमआरआई मेसिन खरिद गर्न लागेको बुझिएको छ । यस्तै चलखेल धनगढी र विराटनगर तालिम केन्द्रको लागि किनिने एक्सरे मेसिनको लागि पनि भएको छ । कमिशनको लोभमा प्राविधिक तथा संरचना विनै तालिम केन्द्रमा एक्सरे मेसिन खरिद गर्ने योजना बनाइएको छ ।
ठूलो रकम खर्च गरेको आरोप लाग्दै तेस्रो वरियताबाट आईजीपी बनेका धीरजप्रताप सिंह यस्तै खरिदहरुबाट असुल उपर गर्न लागिपरेको देखिन्छ । यसअघि म्याट्रेस खरिद प्रकरण, म्यादी प्रहरीको कपडा खरिदमा विना प्रतिस्पर्धा ठेकेदारसँग सेटिङ मिलाएको र प्रहरीको जुत्ता खरिदमा सेटिङ गरी ७७ वटै जिल्लामा एउटै दाममा एउटै व्यक्तिबाट खरिद गरी ठूलो रकम हात पारेपछि अख्तियार अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो तर अहिले सबैतिर सेटिङ मिलेपछि अख्तियारको अनुसन्धान रोकिएको र प्रहरी अस्पतालमा ‘आउट डेटेड’ मोडेलको एमआरआई मेसिन खरिद गर्न लागिएको छ ।
यसका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिपक थापाले गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सेटिङ मिलाएका हुन् । प्रहरी प्रधान कार्यालयबाट हालै बागमति प्रदेश प्रहरी प्रमुख हेटौडा काज सरुवा भएका थापा प्रधानमन्त्री पुष्पकमल दाहालका नजिक मानिन्छन् । प्रधानमन्त्री दाहालसँगको निकटताको फाइदा उठाउँदै डिआईजी थापाले सबैतिर सेटिङ मिलाएपछि एमआरआई खरिद गरिने फाइल पुनः अघि बढेको हो ।
अस्पतालको संवेदनशीलता तथा अपरिहार्यतालाई ध्यानमा राखी सरकारले नयाँ मोडेलको एमआरआई मेसिन खरिद गर्न २७ करोड ५० लाख रकम निकासा दिएको थियो । तर, कमिसनकै लोभमा आउट डेटेड (दश वर्ष पुरानो) मोडेलको सिङ्गल आरएफ सिस्टम (Single RF System)को एमआरआई मेसिन खरिद गर्ने तयारी भएको छ । यो मेसिनलाई हाल १७–१८ करोड रुपैयाँभन्दा बढी नपर्ने प्राविधिकहरु बताउँछन् ।
सरकारले निकासा गरेको रकमले आधुनिक (Dual RF Syestem) को एमआरआई मेसिन किन्न पुग्ने भए पनि त्यसो नगरी पुरानै मोडेलको मेसिन किनेर करोडौं रकम घोटला गर्न अस्पतालका रेडियोलोष्टि डिआईजी डा. विजयराज श्रेष्ठ, अस्पताल प्रमुख एआईजी आशा सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको योजनामा डिआईजी थापाले सेटिङ मिलाएका हुन् ।
सरकारले विनियोजन गरेको रकमबाट वर्तमान मोडेलको (Latest Dual RF System) को एमआरआई मेसिन खरिद हुनसक्छ । तर आउट डेटेड मोडेलको मेसिन खरिद गर्ने योजनाबारे मन्त्रालय जानकार थियो । प्रहरी अस्पतालसँग हाल रहेको एमआरआई मेसिन दश करोड रुपैयाँमा खरिद गरिएको थियो । अस्पतालको लापरवाहीका कारण उक्त मेसिन अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।
मेसिनमा हेलियम लेभल कम हुँदै गएपछि मेसिनका अन्य म्याग्नेटले काम गर्न छोडेको प्राविधिकहरु बताउँछन् । अस्पतालले समयमै मर्मत गर्न वेवास्ता गरेकाले दश करोडको एमआरआई मेसिन कवाडी बन्न पुगेको हो । नयाँ मेसिन खरिद गरी कमिशन खाने चक्करमा अस्पतालको मेसिन बिगारिएको त होइन ? भन्ने प्रश्नको जवाफ अस्पताल प्रशासनसँग छैन ।
नयाँ एमआरआई मेसिन खरिद गर्न अस्तालका रेडियोलोजिष्ट डिआईजी डा. विजयराम श्रेष्ठको संयोजकत्वमा डिआईजी डा. केदार खड्गीसमेत सदस्य रहेको ५ सदस्यीय समिति गठन भएको थियो । अस्पतालको संवेदनशीलता तथा अपरिहार्यतालाई ध्यानमा राखी नयाँ एमआरआई मेसिन खरिद गर्न सरकारले २७ करोड ५० लाख रकम निकासा दिएको हो ।
हरेक अस्पतालका रेडियोलोजी सम्बन्धी सामानहरु सिमेन्स (Simens) कम्पनीसँग सेटिङ्गमा कम मूल्यका सामानलाई बढी मुल्य देखाइ ठूलो कमिशन खाने नेटवर्किङ लामो समयदेखि चलिरहेको छ । सिमेन्स कम्पनीसँग खरिद गरिने Single RF System को एमआरआई मेसिनको कम्पनी मुल्य १७ देखि १८ करोड भन्दा बढी पर्दैन । तर यही मेसिनमा अनावश्यक एसेसरिज् देखाई सरकारले निकासा गरेको २७ करोड ५० लाख रकममा करोडौं कमिशन खाने चक्कर रहेको बुझिएको छ ।
थप समाचार-
प्रतिक्रिया