उपराष्ट्रपति पदको उम्मेदवार बन्न के–के चाहिन्छ योग्यता ?

उपराष्ट्रपति पदको उम्मेदवार बन्न के–के चाहिन्छ योग्यता ?

भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने


ग्लोब नेपाल
5.5k
Shares

काठमाडौं । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ। निर्वाचन आयोगकाअनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समयतालिका छ । उपराष्ट्रपति उम्मेदवार बन्न वंशजका आधारमा नेपाली नागरिक भएको हुनुपर्ने व्यवस्था छ । उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा उमेर ४५ वर्ष पूरा भएको हुनुपर्छ भने राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

के छ व्यवस्था ?

कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन देहायको योग्यता पूरा गरेको हुनु पर्नेछ :
(क) वंशजको आधारमा नेपाली नागरिक भएको,
(ख) कम्तीमा पैंतालीस वर्ष उमेर पूरा भएको,
(ग) कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको,
(ङ) कुनै लाभको पदमा बहाल नरहेको।

स्पष्टीकरण ट: खण्ड (ङ) को प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।

उम्मेदवारको अयोग्यता 
देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ  :

(क) दफा २३ बमोजिमको योग्यता नभएको,
(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल
सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान
सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(च) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,
(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
(ञ) मानसिक सन्तुलन ठीक नभएको,
(ट) संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको ।

मनोनयनपत्र पेश गर्ने :
 (१) दफा २४ बमोजिम अयोग्यता नभएको व्यक्तिले निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र पेश गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मनोनयनपत्र पेश गर्दा वा गराउँदा दफा ११ बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका पाँच जनाले प्रस्ताव र अर्को पाँच जनाले समर्थन गरी सहीछाप गरेको हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कुनै व्यक्तिको मनोनयनपत्र पेश गर्दा वा गराउँदा फरक–फरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र पेश गर्न वा गराउन सकिनेछ ।

(४) यस निर्देशिका बमोजिम कुनै पनि व्यक्ति एउटै पदको लागि एकभन्दा बढी उम्मेदवारको प्रस्तावक वा समर्थक हुनु हुँदैन ।
(५) उपदफा (१) बमोजिम उम्मेदवारको मनोनयन गर्दा अनुसूची–१२ बमोजिम मनोनयन गर्नु पर्नेछ र प्रस्तावित व्यक्तिले मनोनयन पत्रमा आफ्नो मञ्जुरी लेखी सहीछापसमेत गर्नु पर्नेछ ।
(६) यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ ।

निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम जाँचबुझ गर्दा रीतपूर्वकको देखिएमा अनुसूची–१४ बमोजिम मनोनयनपत्र दर्ता किताबमा त्यस्तो मनोनयनपत्र दर्ता गरी अनुसूची–१५ बमोजिमको निस्सा मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई दिनेछन् । कसैले प्रस्तावक वा समर्थक नभएको, प्रस्तावक वा समर्थक दोहोरिएको, प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको सहीछाप नभएको वा अन्य कुनै रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा निर्वाचन अधिकृतले रीत नपुगेको जति कुरा सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गर्नेछन् ।