(प्रस्तुत अंश ‘ मेरो पत्रकारिता’ संस्मरणात्मक कृतिबाट साभार गरिएको हो । देशमा प्रजातन्त्र पुनस्र्थापित हुनुभन्दा धेरै अघिदेखि पत्रकारितामा सक्रिय रहेका लेखकका सम्झनाहरु र उहाँका व्यक्तिगत सुख दुःखका रेखाहरु एउटा कालखण्डको बकपत्रकोरुपमा यो कृतिलाई लिन सकिन्छ । यसको एउटा सानो छनक तलको अंशमा प्रस्तुत छ । )
प्रायशः प्रुफ हेर्ने काम पनि म गर्थेँ । एक दिन अघिल्लो दिनको पत्रिकाको डेट लाइनमा रातो गोलो पारेर टेबुलमा छाडिएको रहेछ । म पुग्ने बित्तिकै अनिल, पद्मिनी, कामिनीहरू खित्का छाडेर हाँसिरहेका थिए । मैले त्यता ध्यान दिइनँ । निकैबेरपछि त्यो रातो गोलाकारभित्रको डेट लाइनमा आँखा पर्यो । ‘काठमाडौँ’ हुनुपर्नेमा ‘म’ को सट्टा ‘ल’ छापिएको रहेछ । म लाजले भुतुक्क भएँ ।
पत्रकारितामा मुद्रा राक्षस प्रशस्तै हुनेगर्छ । एकपटक गोरखापत्रका प्रधानसम्पादक गोपालप्रसाद भट्टराईले पनि मुद्रा राक्षसकै कारण जागिरबाट हात धुनुपरेको सुनेको थिएँ । भएछ के भने ‘मुमा बडा महारानी रत्ना’ हुनुपर्नेमा मुमा छुटेछ । यसअघि पनि अर्को रमाइलो घटना छ । २०१७ मा बेलायतकी महारानी त्यस समय नेपालको भ्रमणमा थिइन् । गोरखापत्रमा रानीको प्रशस्ति छापिने क्रममा उहाँको सौन्दर्य प्रेमको गाथा छापियो । त्यसमा महारानीलाई गुलाफको फूल अत्यन्त मन पर्छ भन्ने वाक्यको ‘गुलाफ’ शब्दबाट ‘फ’ चाहिँ भागेछ ।
त्यही अनर्थका कारण केहीलाई ग्रेड रोक्का र केहीको जागिर गएको सुनेको थिएँ । यहाँ पनि यस्तै भएछ । पञ्चायतकालमा त मुद्राराक्षसकै कारण सम्पादक पत्रकारहरू अञ्चलाधीशका कठघरामा पुगिहाल्नुपर्थ्याे । पत्रकारिता यस्तै तीतामीठा अनुभवहरूको एक सामयिक र सार्वजनिक पाठशाला पनि हो ।
पुस्तकः मेरो पत्रकारिता
विधाः संस्मरण
लेखकः पुरुषोत्तम दाहाल
प्रकाशकः सूचना चौतारी सञ्चार सहकारी संस्था लि.
प्रतिक्रिया