विराटनगर । पहिचानवादी र सुरक्षाकर्मीबीच आइतबार कोसी प्रदेशसभा सचिवालयनजिकै झडप हुँदा विराटनगर तनावग्रस्त बनेको छ । कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् ।
त्यसक्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ३० जनाभन्दा धेरै घाइते भएका छन् । दिउँसो २ बजेका लागि बोलाइएको बजेट अधिवेशन अवरोध गर्ने गरी प्रदर्शनकारीले प्रदेशसभा भवनको सय मिटरपूर्व देवकोटा चोकमा प्रदर्शन गरेपछि झडप भएको हो ।
बिहानैदेखि प्रदेशसभा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच आन्दोलनकारीले देवकोटा चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन थालेका थिए ।
ढुंगामुढा गर्दैै आन्दोलनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास, पानीको फोहरा र हवाई फायर गरेको थियो । प्रारम्भिक रूपमा आएको विवरणानुसार सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ कम्तीमा ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अहिले अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएकाे छ ।
बाहिर झडप भइरहँदा प्रदेशसभा बैठक बसेको थियो । बैठकमा बोल्ने अधिकांश दलका सांसदले कोसी नामकरणको विरोधमा भएको आन्दोलन हिंसात्मक बन्ने खतरा रहेको भन्दै सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया