विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलुका ५ बजे सकिदैछ ।
गठबन्धनले पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चित जस्तै छ । गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।
सरकार गठनका लागि सुविधाजनक बहुमत पुर्याउन गठबन्धनका नेताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पटकपटक बैठक गरेका थिए । तर, राप्रपाले संघदेखि अन्य प्रदेशमा समेत भाग खोजेपछि गठबन्धन पछि हटेको थियो । राप्रपाले समर्थन नगर्ने भएपछि सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी पेश गर्ने तयारी भएको हो ।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखलाई राजीनामा गराएपछि), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।
सभामुखको राजीनामालाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि छ । राजीनामा दिनु परे आफूलाई मुख्यमन्त्री बनाउनु पर्ने माग सभामुख बाबुराम गौतमले प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल समक्ष राखेको बताइएको छ । यद्यपी, माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफ्नो पार्टीले मुख्यमन्त्री दाबी गर्नुपर्ने अवस्था आए आफूनै दाबेदार रहेको बताएका छन् ।
प्रतिक्रिया