भदौ महिनाका लागि अधिकांश बैंकहरुले बढाए ब्याजदर

भदौ महिनाका लागि अधिकांश बैंकहरुले बढाए ब्याजदर



काठमाडौं । भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच आफ्नो निक्षेप जोगाउने र अरुको खोस्ने प्रतिष्पर्धा चलेको देखिएको छ । आर्थिक वर्ष २०८० र ८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ।

साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् ।

कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक कृषि विकास बैंक र नेपाल बैंकले १०.८९६ प्रतिशत ब्याजदर अफर गरेका छन् भने प्राइम कमर्सियल बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभू बैंकले क्रमशः १०.५० प्रतिशत, १०.४९ प्रतिशत, १०.४० प्रतिशत, र १०.१० प्रतिशत तोकेका छन् ।

बाँकी एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९२ प्रतिशत ब्याजदर तोेकेको छ ।

एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन्। प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिअनुसार बैंकहरुले भदौ महिनाको लागि ब्याजदर प्रकाशित गरेका हुन् ।