भारतले गर्‍यो क्यानडाली कूटनीतिज्ञलाई देश निकाला

भारतले गर्‍यो क्यानडाली कूटनीतिज्ञलाई देश निकाला

५ दिनभित्र भारत छाड्न आदेश



काठमाडौं । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ ।

मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको छ ।

यसअघि क्यानडाले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएर सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई देश निकाला गरेको थियो । तर, भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत आएका थिए । यस भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि भएको आक्रमणको मुद्दा उठाएका थिए ।

जी–२० सम्मेलनपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो स्वदेश फर्कने बित्तिकै भारतसँगको सम्बन्धमा दरार आउन थाल्यो । ट्रुडो स्वदेश फर्केको केही समयपछि क्यानडाका वाणिज्य मन्त्री मेरी एनजीका प्रवक्ताले शुक्रबार क्यानडाले भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको बताएका थिए ।

यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । निज्जर क्यानडाका एक महत्त्वपूर्ण सिख नेता थिए र उनले सार्वजनिक रूपमा खालिस्तानलाई समर्थन गर्ने गरेका थिए। निज्जरका समर्थकहरुले उनको गतिविधिका कारण विगतमा पनि उनलाई धेरै धम्की आएको बताए ।

भारत सरकारले निज्जरलाई आतङ्कवादी र पृथकतावादी संगठनको प्रमुख भन्दै आएको छ । निज्जरका समर्थकहरूले यी आरोपहरूलाई अस्वीकार गर्छन्।

निज्जर हालैका महिनाहरूमा मृत्यु हुने तेस्रो सिख नेता थिए। गत जुन महिनामा बेलायतका अवतार सिंह खाँडा पनि बर्मिङ्घममा रहस्यमय अवस्थामा मृत फेला परेका थिए । उनी खालिस्तान लिबरेसन फोर्सका प्रमुख थिए।

परमजीत सिंह पञ्जवारको पनि लाहोरमा हत्या भएको थियो । भारत सरकारले परमजीतलाई पनि आतङ्कवादी भनेको थियो ।

क्यानडाको संसद्मा ट्रुडोले निज्जरको हत्याको मुद्दा दिल्लीमा उच्च तहमा उठेको बताए । क्यानडाले यो मुद्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि उठाएको बताएको छ ।

यो पनि-

शिख नेताको हत्यामा भारत संलग्न भएको क्यानडाको आरोप, कूटनीतिज्ञ निष्कासित