कोरोना संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको निधन
परिवारका सदस्य समेत संक्रमित,समुदायमा बढ्दो जोखिम

Globe Nepal
Globe Nepal 7 महिना अगाडी

बाल्टिमोर,अमेरिका,मार्च २४ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा एक नेपालीको निधन भएको छ । न्यूयोर्कमा विगत २० वर्षभन्दा बढी लामो समयदेखि बस्दै आएका अनिल सुब्बाको गएराती उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणका कारण अमेरिकामा निधन हुने सुब्बा पहिलो नेपाली हुन् । हालसम्म विदेशमा रहेका मध्ये दुई जना नेपालीको यही संक्रमणका कारण निधन भैसकेको छ । गत साता लन्डनमा अर्का एक नेपालीको निधन भएको थियो । करीब ५० वर्षीय सुब्बा एकसाता पहिलेदेखि अस्पतालमा उपचाररत थिए । पछिल्लो चार दिनदेखि उनको स्वास्थ्य अवस्था जटील बन्दै गएको थियो । सुब्बाका पारिवारिक मित्र समेत रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्गका अनुसार, सुब्बा आफ्नी श्रीमती र तीन छोराछोरीसहित क्वीन्समा बस्दै आएका थिए । समितिका सक्रिय सदस्य समेत रहेका सुब्बामा डाइबिटिज र उच्च रक्तचापको समस्या थियो ।  केही समय होटल व्यवसायमा समेत आवद्ध रहेका सुब्बा पछिल्लो समय उबर चालकको रुपमा कार्यरत थिए ।

यसैबीच दिवंगत सुब्बाका २१ वर्षीय जेठा छोरामा समेत भाइरसको जटिल संक्रमण देखिएको छ । उनी समेत अस्पतालमा उपचाररत छन् भने ११ वर्षीय छोरामा पनि संक्रमणको जोखिम देखिएको जनसम्पर्क समितिका महासचिव नेम्वाङ्गले जनाएका छन् । पुर्ख्यौली नेपालको पाँचथर जिल्लाको कुमायक गाउँपालिका रानीगाउँका सुब्बा एनआरएन अमेरिकाको न्यूयोर्क च्याप्टरको पूर्व समितिमा बिजनेश को अर्डिनेटर समेत थिए । दिवंगत सुब्बा दुई साता पहिले निधन भएका कांग्रेस नेता एवं पूर्वमंत्री पूर्णकुमार शेर्माका भानिज हुन् ।
सुब्बाको निधन भएपछि नेपाली समुदायका अगुवाहरुले दु:ख व्यक्त गर्दै समुदायका आम सदस्यहरुलाई यसको जोखिमबाट सतर्क रहन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । यसैबीच सुब्बाको दाहसंस्कारलगायत परिवारलाई सहयोग जुटाउन समितिले आवश्यक पहल र सरकारी निकायसंग समन्वय सुरु गरेको समितिका महासचिव नेम्वाङ्गले जानकारी दिएका छन् ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com