राष्ट्रिय वाणिज्य बैंकमा व्यवस्थापन विरुद्ध कर्मचारी संघ आन्दोलनमा

राष्ट्रिय वाणिज्य बैंकमा व्यवस्थापन विरुद्ध कर्मचारी संघ आन्दोलनमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी सेवा विनियमावली विपरीत व्यवस्थापन चलेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । बैंकको कर्मचारी यूनियन नेपाल वित्तीय संस्था कर्मचारी संघ व्यवस्थापन विरुद्ध आन्दोलित भएको हो ।

व्यवस्थापकीय सुधारका विभिन्न मागहरु राख्दै कर्मचारी यूनियनले व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आफ्ना मागहरु पुरा नगरे कडा भन्दा कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । कर्मचारी सरुवा/बढुवा लगायतका विषयहरु विनियमावली बमोजिम पारदर्शी ढंगले हुनुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ ।

बैंक भित्र विविध क्षेत्रमा भएका कमजोरीहरुको विषयमा यूनियनले लामो समयदेखि लिखित तथा मौखिक रुपमा व्यवस्थापनको ध्यानाकर्षण गराउँदैै आएको जनाएको छ । पछिल्लो समय समग्रमा बैंकको बजार प्रतिस्पर्धात्मक क्षमतामा हस आएको, HR प्रणाली ध्वस्त हूने गरी पछिल्लो समयमा बैंक व्यवस्थापनले कार्यहरु गरेको, बैंक भित्र चरम रुपमा राजनितीकरण गरिएको, कर्मचारी सेवा विनियमावलीको विपरित हूनेगरी कयौ कार्यहरु गरिएकोले नितिगत भ्रष्टाचार भएको ठहर गरेको छ । यी सवै विषयहरुमा बैंकको HR पूर्णरुपमा असफल भएको यूनियनले जनाएको छ ।

अझ बैंकले गरेको पछिल्ला सरुवाहरुमा कर्मचारी सेवा विनियमावली तथा शाखा वर्गीकरण तथा भौगोलिक विभाजन वमोजिम नगरी प्रष्ट रुपमा राजनीतिक विभेद गरिएको, कर्मचारीको उत्पादकत्वमा नकारात्मक प्रभाव पर्ने गरि सरुवाहरु गरिएको समेत उल्लेख गरिएको छ । यसरी गरिएको सरुवा पूर्णरुपमा रद्घ गरी पुनः पारदर्शी ढंगबाट विना राजनीतिक पुर्वाग्रह नियमानूसार सरुवा गर्नको लागि समेत माग गरेको छ । अव्यवस्थित एवं मनोमानी रुपमा काजमा कर्मचारीहरुलाई राखिएको र उनीहरुको उचित सरुवा व्यवस्थापन गर्नूपर्ने, वैंज्ञानिक कार्य विभाजनको आधारमा जिम्मेवारी दिइनु पर्ने, एउटै व्यक्तिलाई आवश्यकता भन्दा बढी जिम्मेवारी दिन नहूने, बैंक भित्रको आन्तरिक नियन्त्रण प्रणाली र सुशासन मा सुधार हूनूपर्ने, CSR र विज्ञापन वापत वितरण गरिएको रकम पारदर्शि हूनूपर्ने समेत सो यूनियनको माग रहेको छ ।

यस्ता छन् मागहरु

– कर्मचारीहरुको सरुवा/बढुवा प्रक्रियालाई व्यवस्थित गर्न पारदर्शि मापदण्डहरु तयार गरी अनूमान योग्य (Predictable) बनाइयोस् ।
– शाखाको वर्गीकरणलाई व्यवस्थित गर्दै दरबन्दी निर्धारण गरी कर्मचारीको उचित व्यवस्थापन गरियोस् ।
– हरेक कार्यालयमा रहेको दरबन्दी र कार्यरत कर्मचारीको संख्या पारदर्शि गरियोस् ।
– न्युन कर्मचारीबाट अधिकतम उत्पादकत्व प्राप्त गर्न आम कर्मचारीहरुलाई उत्प्रेरित गर्ने कार्यक्रमहरु (ओभरटाइम, दैनिक भ्रमण भत्ता, दूर्गम क्षेत्र भत्ता तथा अन्य सुविधाहरु आदि) ल्याइयोस् ।
– स्पष्ट र प्राप्ती योग्य लक्ष्यहरु निर्धारण गरी लक्ष्य प्राप्तीको आधारमा कर्मचारीहरुलाई थप उत्प्रेरित गरियोस् ।
– कर्मचारी सेवा विनियमावली संशोधन गरि यथाशिघ्र लागु गरियोस् र सोही बमोजिम पदपुर्ति प्रक्रिया यथाशिघ्र अगाडी बढाइयोस् ।
– लामो समयदेखि वृत्ति विकासमा अवरोध भएका कर्मचारीहरुलाई उत्प्रेरित गर्ने व्यवस्था मिलाइयोस् ।
– लामो समयदेखि दुर्गम स्थानहरुमा कार्यरत कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली बमोजिम व्यवस्थापन गरियोस् ।
– लामो समयदेखि रहेका दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुको पुरानो सहमति बमोजिम कार्यान्वयन तथा व्यवस्थापन गरियोस् ।
– पछिल्लो समय करार कार्यविधि विपरित अनावश्यक रुपमा करारमा राखिएका कर्मचारीहरु तुरुन्त हटाइयोस् ।
– अपारदर्शि र राजनैतिक पुर्वाग्रह राखी गरिएका सरुवाहरु रद्ध गरियोस् ।
– काजमा कार्यरत कर्मचारीहरुलाई उचित व्यवस्थापन गरियोस् ।
– बैंंकभित्रको आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई चुस्त, दुरुस्त बनाइयोस् ।
– CSR तथा विज्ञापन वापत वितरण गरिएको रकमहरुलाई स्पष्ट मापदण्ड बमोजिम पारदर्शि बनाइयोस् ।
– व्यवसाय विस्तारको प्रभावकारी लक्ष्य निर्धारण र वैज्ञानिक तथा व्यवहारिक रणनीतिहरु तयार गरि लागु गरियोस् ।