घटस्थापनापछि काठमाडौं छाड्ने ह्वात्तै बढे, तीन दिनमै दुई लाख गाउँ फर्किए

घटस्थापनापछि काठमाडौं छाड्ने ह्वात्तै बढे, तीन दिनमै दुई लाख गाउँ फर्किए



काठमाडौं । दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन् । घटस्थापनासँगै उपत्यका छाडेर जिल्ला/ गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यकाको नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट शनिबार मात्र ६० हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए ।

घटस्थापना अर्थात् २१ असोजमा ४५ हजारले उपत्यका छाडेकामा त्यसको भोलिपल्ट २२ असोजमा यो संख्या बढेर ५१ हजार नाघेकाे थियो ।

आइतबार पनि बिहानैदेखि उपत्यकाबाट बाहिरिने सवारीसाधनको लाम लागेको छ । तर, नागढुंगा र जगाती नाकामा लामो जाम छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार १ असोज यता सात लाख यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । ‘घटस्थापनासम्म उपत्यका छाड्नेको संख्या खासै थिएन, त्यसपछि बढेको हो,’ महासंघका महासचिव सरोज सिटौलाले भने,‘ फूलपाती र अष्टमीमा यात्रुको चाप अझ बढ्छ ।’