नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन आग्रह

नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन आग्रह



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा हिजाे बिहीबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीले भिसा आवेदनका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै हुने गरी सहजीकरणका लागि समन्वय गर्न आग्रह गरे । नेपालले द्विपक्षीय श्रमसम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गराउँदै सम्झौतालाई अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे ।

पछिल्ला पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर सङ्ख्या सात हजार ६१८ नेपाली रोमानिया पुगेका छन् । भेटमा राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।