अमेरिकालाई नेपालको असंलग्न परराष्ट्र नीति बुझाउनुपर्छ : प्रस्तावित राजदूत खत्री

अमेरिकालाई नेपालको असंलग्न परराष्ट्र नीति बुझाउनुपर्छ : प्रस्तावित राजदूत खत्री



काठमाडौं । सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको हो ।

वेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको संसदीय सुनुवाइ सकिएपछि अहिले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ सुरु भएको छ ।

समिति बैठकमा खत्रीले दिएको मन्तव्य :
अमेरिकाले नेपालको भुराजनीति बुझ्नुपर्छ । असंलग्न परराष्ट्र नीति अमेरिकालाई बुझाउनुपर्नेछ । एमसीसी इण्डोप्यासिफिक रणनीति मिसाएर हेरिएको छ । यो केही गलत धारणा छ । दुबै तर्फबाट गलत बुझाइ छ । नेपालको पनि गल्ती छ । संसदबाट एमसीसी पास गर्ने प्रावधान राखियो । यसले अब बीआरआई लगायत सबै परियोजना संसदबाट जानुपर्ने बुझाइ भयो ।

अमेरिकाको पनि गल्ती छ । अमेरिकी रक्षा सहायक मन्त्री नेपाल आएर इण्डोप्यासिफिक रणनीति हो भनिदिनुभयो । यसले पनि भ्रम भयो । अस्ति अमेरिकी विदेश सहायक मन्त्रीले पनि रियालायज गर्नुभयो । एमसीसीमा अमेरिकामात्र होइन नेपालको पनि पैसा छ ।

एमसीसीमा ढिलाइ भएको छ । राख्ने नराख्ने निर्णय गर्नुपर्छ । हालै जवाफमा एमसीसी संविधानमाथि होइन, इण्डोप्यासेफिक रणनीति पनि होइन, बौद्धिक सम्पत्तिमा पनि नेपालको हक लाग्छ, महालेखा परीक्षण नेपालले गर्न सक्छ भनेको छ ।

मैले देखेको यो विषय केही हदसम्म यो दलबीचमा र देशभित्र कन्ट्रोभर्सीमा अलमलियो । मेरो भनाइ के हो भने लिने हो लिनुपर्छ र नलिने हो नलिने भन्नुपर्छ । निर्णय दिनुपर्छ ।

तर, कारण नखुलाई रिजेक्ट गर्ने हो भने अरू देशबाट पनि वैदेशिक सहायता आउने कुरामा प्रश्न उठ्न सक्छ । विश्वासमा प्रश्न आउला कि भन्ने मेरो बुझाइ हो । तर, निर्णय गर्ने सरकारले हो, अनुमोदन संसदले गर्ने हो । त्यसकारण ठूलो रकमको परियोजना लिन नेपालीहरू बृहत् छलफल गरेर क्लियर हुनुपर्छ ।

स्टेज भिजिट पनि शून्य छ । अमेरिकाको राष्ट्रपति आएको छैन, उपराष्ट्रपति पनि ५० वर्ष भइसकेको छ । नेपालबाट पनि भिजिट नभएको, द्विपक्षीय भ्रमण आदान प्रदान बढाउनुपर्छ । मेरो पहल रहन्छ । सन् १९८३ मा भएको रहेछ, वीरेन्द्रको लास्ट टाइम राजकीय भ्रमण भयो । सहाना प्रधान र केपी ओली कार्यक्रम भिजिटमा गएका रहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजी जानुभएको रहेछ । भ्रमणलाई निरन्तरता दिन प्रयास हुनुपर्छ । अमेरिकाले लामो समयदेखि सहयोग गरेको छ । त्यसलाई अगाडि बढाउनुपर्छ ।

अमेरिकी लगानी आएको छ । तर, जुन लगानी साउथ एसियामा अरू देशमा भएको त्यो स्तरको छैन, बढाउन पहल गर्छु । अमेरिकामा राम्रो गरेका नेपालीसँग समन्वय राजदुतावासले गरेर नेपालको हितमा प्रयोगका लागि प्रयास गर्छ ।