बायोग्राफी ल्याउँदै गायिका ब्रिटनी स्पियर्स

बायोग्राफी ल्याउँदै गायिका ब्रिटनी स्पियर्स



काठमाडौं । हलिउड पप स्टार ब्रिटनी स्पियर्स पुनः चर्चामा छिन् । हलिउडकी लोकप्रिय यी गायिका अब लेखक भएर पाठकमाझ आउने तयारीमा छिन् । उनले प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरका साथ एक पुस्तक प्रकाशनका लागि सम्झौता गरेकी छन् । यो पुस्तकमा ब्रिटनीको बायोग्राफी हुनेछ ।उनले पुस्तकका लागि १५ मिलियन अमेरिकी डलरको सम्झौता गरेकी छन् । सिमोन एन्ड सुस्टरले ब्रिटनीको जिन्दगीमा लेखिएको किताबको अधिकार आफूले लिइसकेको छ । पुस्तकमा ब्रिटनीको करियर, सम्बन्ध र पिता जेम्स स्पियर्सको संरक्षकत्वको समयमा गायिकाको जीवनमा आएको उतारचढावलाई लेखिनेछ ।‘ब्रिटनी स्पियर्सको जिन्दगीमा आधारित यो पुस्तक हालसम्मकै सबैभन्दा ठूलो पुस्तक हुनेछ । ब्रिटनी पनि आफ्नो कथालाई विश्वसामु पढाउन र सुनाउन निकै उत्साहित छिन्’, सिमोन एन्ड सुस्टरले भनेको छ ।

सन् २०२१ को नोभेम्बरमा ब्रिटनीले पिता जेम्सको संरक्षकत्वबाट स्वतन्त्रता पाएकी थिइन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीस ब्रेन्डा पेनीले गायिका ब्रिटनीको संरक्षकत्वलाई टुंग्याउने फैसला सुनाएकी थिइन् । संरक्षकत्व टुंगिनुअघि ब्रिटनीका पिताले उनको व्यावसायिक, सामाजिक र आर्थिक निर्णय लिने गर्दथे । संरक्षकत्वबाट मुक्ति मिलेपछि ब्रिटनी पूर्ण रूपमा आफ्नो सम्पत्तिको आफैं मालिक बनेकी छन् । ब्रिटनी मानसिक पमा अस्वस्थ भएपछि सन् २००८ देखि पिता जेम्सले उनको संरक्षकत्वको जिम्मेवारी लिँदै आएका थिए । उनले पितामाथि मानसिक शोषण, घरमा बन्द गरेको, पैसा आफैंले राखेको र आफ्नो विवाह तथा सन्तान जन्माउन नदिएको जस्ता गम्भीर आरोप लगाएकी थिइन् ।