नेपाल टेलिकमले १८औं वार्षिकोत्सव पारेर व्यवसायिक रूपमा सुरु गर्‍यो भीओएलटीइ सेवा

नेपाल टेलिकमले १८औं वार्षिकोत्सव पारेर व्यवसायिक रूपमा सुरु गर्‍यो भीओएलटीइ सेवा



काठमाडौं। नेपाल टेलिकमले १८औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबारदेखि भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) सेवाको व्यावसायिक सुरूवात गरेको छ।

टेलिकमले गत जेठमा विश्व दूरसञ्चार दिवसको अवसर पारेर भीओएलटीइ सेवाको परीक्षण सुरु गरेको थियो। टेलिकमले फोरजी जीएसएम प्रिपेड तथा पोष्टपेड दुवै नेटवर्कमा भीओएलटीइ एकैसाथ परीक्षणका साथै अहिले व्यवसायिक सुरुवात गरेको जनाएको छ।

सेवा उपलब्ध भएसँगै भ्वाइस कलमा हाइ डेभिनेसन स्तर एवं फोन डायल गर्नासाथ सम्पर्क स्थापित हुने दाबी टेलिकमको छ। अहिले कल गर्ने र उठाउनेबीच सम्पर्क स्थापित हुन केही समय लाग्ने गरेको छ।

सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीइ सपोर्ट गर्नुपर्ने टेलिकमले जनाएको छ। टेलिकमले आफ्नो नेटवर्कमा मात्रै भीओएलटीइ नि:शुल्क प्रयोग गर्न पाउने जनाएको छ। यो सेवा एक्टिभ गर्न प्रयोगकर्ताको सिम र सेट दुवै भीओएलटीइ सपोर्ट गर्ने हुनुपर्छ। प्रयोगकर्ताले यो सेवा सक्रिय गर्न *444# मा डायल गर्ने सुविधा टेलिकमले सुरु गरेको छ।