अस्थायी युद्धविराममा पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप

अस्थायी युद्धविराममा पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप



युक्रेन । युक्रेनले नयाँ अस्थायी युद्धविराममा पनि रुसी गोलाबारी जारी रहेको जनाएको छ । गोलाबारीका कारण केही सर्वसाधरणको मृत्यु भएको छ । युद्धमैदान जस्तै बनेको मारिओपोल शहरबाट निस्कन असम्भव रहेको स्थानीय युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

हिजो बिहान नयाँ अस्थायी युद्धविरामसहित पुनः सर्वसाधारणलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयत्न थालेको मारिओपोल सीटी काउन्सिलले पुनः त्यो अवरुद्ध भएको जनाएको छ। शहरमा करिब दुई लाख मानिस फसेको बताइएको छ ।

विगत पाँच दिनदेखि उक्त शहरमा खानेपानी आपूर्ति र बिजुली रोकिएको छ । खानेकुरा समेत सकिन लागेको बताइएको छ। युक्रेनी प्रतिरोधको प्रतिक्रिया स्वरूप रुसले विभिन्न शहरका ‘सघन बस्ती भएका क्षेत्रलाई निशाना बनाएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । यता रुस र युक्रेनी प्रतिनिधिहरू अर्को चरणको सहमतिका लागि आज वार्तामा बस्दैछन् ।

यसअघि दुई चरणमा भएका वार्तामा कुनै ठोस प्रगति हुन सकेको थिएन । रुसी आक्रमणका कारण राजधानी किभको दक्षिण पश्चिमा अवस्थित विमानस्थल ध्वस्त भएको छ । रुसले अहिलेसम्म किभको उत्तर र पूर्वी क्षेत्रलाई निशाना बनाइरहेको छ । युद्ध चर्कदैं जाँदा लाखौं युक्रेनीले आफ्नो थातथलो छाडेका छन् ।