युक्रेनको मारिपोलस्थित प्रसुति तथा बाल अस्पतालमा आक्रमण

युक्रेनको मारिपोलस्थित प्रसुति तथा बाल अस्पतालमा आक्रमण



युक्रेन । युक्रेनको दक्षिणी शहर मारिपोलको प्रसूति र बाल अस्पतालमा आक्रमण भएको छ ।

दक्षिणी शहर मारिपोलको अस्पतालमा रुसी हवाई आक्रमणमा प्रसूति र बालबालिकाको वार्ड ध्वस्त भएको युक्रेनी अधिकारीले बताएका छन् । शहरका अधिकारीले आक्रमण विनाशकारी भएको बताउँदै कैयन् मानिसको मृत्यु हुनुका साथै सयौं जना घाइते भएको बताए । मृत्यु हुनेमा अधिकांश बालबालिका समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराधको संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघले आक्रमणलाई विश्वास गर्न गाह्रो हुने बताएको छ भने बेलायतले यसलाई घृणित कार्य भनेको छ ।

त्यस्तै राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्नुपर्ने माग दोहोर्‍याउँदै पश्चिमा राष्ट्रले रुसमाथिको प्रतिबन्ध थप बढाउन र वार्ताका लागि दबाव दिनुपर्ने बताए । नेटोलाई दोस्रो पटक नो फ्लाई जोन घोषणा लागू गर्न अनुरोध गर्दै पश्चिमाले तेस्रो विश्वयुद्ध पर्खेर बस्दासम्म लाखौं मानिसको मृत्यु हुने चेतावनी दिएका छन् ।

यसैबीच दुई देशबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेकै बेला आज दुबै देशका विदेशमन्त्रीले पहिलो पटक वार्ता गर्दैछन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच टर्कीमा भेट हुने जनाइएको छ । यसअघि दुई देशका प्रतिनिधिबीच भएका तीन चरणको वार्तामा कुनै सहमति जुट्न सकेको छैन ।