समय लेखुँ, कि वेदना !
आकाश लेखुँ या टेकेको धरातल ?
धेरैपटक सम्पादन गर्न बाँकी कथाको हरफहरू जस्तो
उराठिलो पहाड जस्तो
देउरालीमा बुकिफूल चढाइरहेको नौलो बटुवा जस्तो
बेसुर बेसुर बजिरहेको बाँसुरीको धुन जस्तो
बेमौसमी आँधीले बिथोलिएको बसन्तको पालुवा जस्तो
कालो बादलहरूको साम्राज्यमा एकटुक्रा चन्द्रमा लुकामारी खेलिरहे जस्तो
यी यावत अनुभूतिहरूको कठघरामा मन बेकसुर थुनिएको छ, यतिबेला ।
कसलाई सम्झाउँ ?
कसलाई दिउँ आश्वासन !
आफ्नै रगतसँग सम्झौंता गर्दै बाँचिरहेको बाउलाई ?
माकुराझैं आयू नापिरहेकी आमालाई ?
परिवेश भन्दा टाढा आफ्नै रफ्तारमा हिडिरहेको निर्दोष दाजुलाई ?
हल्लैहल्लाको भिंडमा भबिष्य खोजिरहेकी बहिनीलाई ?
आफ्नै मुटुको गतिसँग मृत्युको भिख मागिरहेको भाइलाई ?
कि,
ओखतीको साहाराले बल्लतल्ल असन्तुलित हाँसो फुत्काइरहेको उसको मुहारलाई ?
कि,
नहिडेको बाटोमा हिँडेको दोष बोकेर, नखाएको विष लागेझैं अपराधी ठहरिन विवश निर्दोषीलाई ?
या,
पछाडिबाट प्रहार गर्नेहरूलाई ?
कि त,
हतियार भन्दा दोब्बर अर्जापिने,षडयन्त्र रच्ने परिचित पात्रहरूलाई ?
कि,
आफैँलाई ?
निलम्बित छन् शब्दहरू
मौन छ यी ओंठ
शून्य छ मस्तिष्क
मन घरि लैबरी बताससँगै सुसाउँदै पुग्छ माथिमाथि
घरि बौडिदै झर्छ तलतल किनारा छेउ
तर,
हातगोडा लखतरान छ आधुनिक यन्त्रको सामुन्ने ।
प्रतिक्रिया