प्राइभेट फर्म र कम्पनी नवीकरण शुल्क मिनाहा

प्राइभेट फर्म र कम्पनी नवीकरण शुल्क मिनाहा

आर्थिक वर्ष २०७६/०७७ सम्म वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले २०७९ साल पुस मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्क मिनाहा


ग्लोब नेपाल
179.7k
Shares

काठमाडौं । सरकारले प्राइभेट फर्म र कम्पनी नवीकरण शुल्क मिनाहा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले आर्थिक वर्ष २०७६/०७७ सम्म वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले २०७९ साल पुस मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्क मिनाहा गरेको छ । प्राइभेट फर्म रजिष्टेशन ऐन २०१४ तथा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएकाहरुलाई सरकारले यो सुविधा उपलब्ध गराएको हो ।

यसैगरी कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नुबझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिइ आर्थिक वर्ष २०७५/०७६ देखि ०७८ सम्मको आय विवरण र सोमा लाग्ने कर २०७९ साल पुस मसान्तसम्म बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज पनि मिनाहा गरेको छ ।

संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) करदातालाई बक्यौता मूल्य अभिवृद्धि कर छुटको सरकारले विशेष व्यवस्था गरेको छ । मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम दर्ता भएका ज्वाइन्ट भेन्चर कम्पनीले २०७८ साल चैत मसान्तसम्मको आफूले बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र व्याजको ५० प्रतित रकम २०७९ साल पुस मसान्तसम्म बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी व्याज मिनाहा हुने व्यवस्था गरिएको छ ।