लेकाली पथ लाग्न सक्तछ जुका बर्साद बेला परी
जोरी खोज्दछ हुन्डरी नजिकमै टोपी खसाल्ने गरी
नागी जङ्गलभित्र हिँड्छ कुहिरो–हुस्से गरी साउती
चिप्लेला हिँड सुस्तसुस्त पनले थामेर आफ्नो गति
पानी सिम्सिम गर्छ शीतकणझैँ चिस्याउँदै कानमा
हल्लिन्छन् शिशु–पात फिर्फिर गरी नाचेर उद्यानमा
टाढैबाट नियाल्छ रे वनचरो ‘को हो’ र ‘को हो’ गरी
‘पाक्यो काफल’ भन्छ काफल चरी सन्देश नौलो छरी
पाकेको फल खान निम्ति कसरी चढ्ने ? छ चिप्लो रुख
आफ्नै सम्मुख आउँदा पनि खुसी टाढा हुने भो सुख !
ल्याऊँ त्यो सुख आज सम्मुख भनी लम्केर हिँड्दा पनि
झन् टाढातिर तन्किँदैछ सुख यो गन्तव्य बाङ्गो बनी
रोकूँ रोक्न सकिन्न वेग मनको आवेग बागी भयो
के बस्थ्यो अनि चित्तवृत्ति थितिमा संवेग दागी भयो
यो आवेग समालिएन कहिल्यै छारष्ट छाडा बनी
मैमत्ता छ लगामहीन मन यो खैँचूँ म खै के भनी !
प्रतिक्रिया