तत्काल ११ लाख ८० हजार नागरिकता बितरण गर्नुपर्ने

तत्काल ११ लाख ८० हजार नागरिकता बितरण गर्नुपर्ने



काठमाडौं । नागरिकता विधेयक दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि राजपत्रमा प्रकाशित भएपछि यो विधेयकले ऐनमा रुपान्तरण हुनेछ ।

नागरिकता ऐन कार्यान्वयनमा आएपछि तीन प्रकारका नागरिक नागरिकता प्रमाणपत्र लिन योग्य हुनेछन् । जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तान, बाबु वा आमाको पहिचान नभएका र गैरआवासीय नेपालीहरुले नागरिकता प्रमाणपत्र लिन योग्य हुनेछन् । यो ऐन कार्यान्वयनमा आएपछि गैरआवासीय नेपालीबाहेक जन्मसिद्ध नागरिकका सन्तान र बाबुको पहिचान नभएका झन्डै ११ लाख ८० हजार ५ सय ३३ लाई तत्काल सरकारले नागरिकता दिनु पर्नेछ ।

गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकले राजनीतिक अधिकार पाउने छैनन् । राजनीतिक अधिकारबाहेकको नागरिकता कति गैरआवासीय नेपालीले लिने छन् त्यसको कुनै तथ्यांक छैन । तर, यो विधेयक दुवै सदनबाट पारित भएपछि गैरआवासीय नेपाली संघले खुशी व्यक्त गरेको थियो भने केहीले ‘लङ्गडो’ नागरिकता भनेर टिप्पणी गरेका थिए ।

सरकारले अहिलेसम्म १ लाख ९० हजार ७ सय २५ जनालाई जन्मसिद्ध नागरिकता वितरण गरिसकेको छ । ६ वर्षयता वंशजबाहेकको नागरिकता वितरण ठप्प थियो । यस अवधिमा जन्मसिद्ध नागरिकता लिएकाहरुको ५ लाख सन्तान नागरिकता प्राप्त गर्न योग्य भइसकेका छन् ।

बाबुको पहिचान नभएका ८ लाख ९६ हजार ८ सयमध्ये ६ लाख ८० हजार ५ सय ३३ जना नागरिकता प्राप्त गर्न योग्य भएको फोरम फर वमन, ल एन्ड डेभलभपमेन्ट (एफडब्लुएलडी) ले गरेको अध्ययनमा देखिएको छ । सन् २०११ मा भएको राष्ट्रिय जनगणनाको तथ्यांकलाई आधार मानेर तयार पारिएको विवरणअनुसार बाबुको पहिचान नभएका ३७ हजार २० जना ११ वर्ष मुनिका छन् । ११ देखि १४ वर्ष उमेर समूहका १ लाख ७९ हजार २ सय ४७ जना छन् । यस्तै १५ देखि १९ वर्षसम्मका २ लाख ९८ हजार ५८ जना र २० देखि २५ वर्ष उमेर समूहका ३ लाख ८२ हजार ४ सय ७५ जना छन् । बाबुको पहिचान गुमाएका ६ लाख ८० हजार ५ सय ३३ जना नागरिकता लिन योग्य भएको तथ्यांकमा उल्लेख छ ।

एफडब्लुएलडीका अनुसार जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने ।

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने । उक्त व्यहोरा आमाले गरेको स्वघोषणा र आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा नागरिकता लिने व्यक्तिले गरेको स्वघोषणाबाट प्रमाणित हुने व्यवस्था गरिएको छ ।

बाबु आमा पत्ता नलागेका व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने । उपरोक्त व्यहोराका लागि नागरिकताको आवेदनमा सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्न सक्ने ।

बाबु विदेशी भएको नेपाली आमाबाट जन्मेको व्यक्तिले अंङ्गिकृत नागरिकताको लागि आवेदन दिनको लागि ‘नेपालमा जन्म भएको’ हुनुपर्ने प्रावधानलाई हटाइएको छ । विदेशी पुरुषसँग विवाह गरेको नेपाली महिलाले नेपाली नागरिकताको लागि आवेदन दिनको लागि लगाइएको प्रतिबन्ध हटाइएको छ ।