भीरबाट हाम फालेर
नदिमा डुबेर मरिजान्छु भन्थिन् एकदिन आमाले
तर भीरसम्म पुग्ने खुट्टाहरु थिएनन् ।
छोडेर जान्छु
पस्छु देहात र कहिल्यै फर्किन्न भन्थिन् आमाले
तर त्यति टाढा हिँड्न सक्ने खुट्टाहरु थिएनन् ।
यहि दलिनमा लगाउँछु पासो
र शरिर तनक्क तन्काएर निदाउँछु भन्थिन् आमाले
तर पासो हाल्न उभिने खुट्टाहरु थिएनन् ।
उड्न नसक्ने एउटा आमाले
हुर्काइन् एउटा छोरो देश-देशावर उड्ने चरा जस्तो छोरो
संसारका सबै सबै बाटोहरुमा हिँड्ने छोरो
आमा भन्थिन् गहिरो स्वरमा
के गर्नु यो बाटो भएर- हिँड्ने पैतालाहरु नभएपछि
के गर्नु यो आकाश भएर- उड्ने पङ्खा नभएपछि
हरेक साँझ
दलानमा घस्रिएर आमाले मुलबाटो हेर्थिन्,
आउने जाने मानिसहरुको छाँया पछ्याउथिन्,
आँगनमा आँखाहरु विच्छ्याउथिन्,
र मध्यरातमा सधै सधै किन मृत्युको कुरा गर्थिन् ?
भीरबाट हाम फालेर
नदिमा डुबेर मरिजान्छु भन्थिन् आमाले
तर भीरसम्म पुग्ने खुट्टाहरु थिएनन् ।
गीत गाउँदै मधेश पस्ने मालचरीहरुले
आमाको रहर मात्रै लिएर गए- फर्किएनन् ।
बचन लगाउँदै उडेका आफन्तका जहाजहरु पनि
फेरी प्रेमको उपहार लिएर फर्किएनन् ।
आमाले मनलाई कहिले मन्दिर बनाईन्
कहिले चिहान बनाईन् ।
तिरस्कारको औँशी
त कहिले उत्साहको बिहान बनाईन् ।
मान्छेहरुले पनि मान्छे मानेनन्
आमालाई ओरालोले न बगाउन सक्यो पानी जस्तै
उकालोले न चढाउन सक्यो लौरी जस्तै
उमेरभर मन मात्र उडिरह्यो हावासंगसंगै ।
जीवनका सबै सबै
दु:ख, अभाव र कष्ट भन्दा पर
बचन, तिरस्कार र चोटहरु भन्दा पर
एउटा मानिसलाई सधै सधै सम्झिन्छिन् आमाले
जस्ले ह्वीलचेयर लिइ आउँछु भनेर,
यो गाउँ घुमाउँछु भन्ने सपना देखाएर
हिँडेको मानिस आज
उतै कतै घरजम गरेर बसेको खबर मात्र आउँछ ।
म अझै सोध्न सक्दिन
तिमीलाई कस्को आशा छ आमा
त्यो मानिसको कि ह्वीलचेयरको ?
प्रतिक्रिया