पार्टी सभापति देउवालाई डडेल्धुरामा आफ्नै कार्यकर्ताको चुनौति

पार्टी सभापति देउवालाई डडेल्धुरामा आफ्नै कार्यकर्ताको चुनौति


ग्लोब नेपाल
2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसलाई एक नम्बर पार्टी बनाउन गठबन्धन गरेर आम निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवालाई आसन्न निर्वाचनमा आफ्नै कार्यकर्ताले चुनौति दिने भएका छन् । पार्टी हित विपरित गतिविधि गरेको आरोपमा नेपाली कांग्रसबाट निकालिएपछि नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका कर्ण मल्लले सभापति देउवालाई चुनौति दिने छन् । डडेल्धुरामा एमाले तेस्रो पार्टी भएकाले सम्भवतः मल्लले उसैको समर्थनमा देउवालाई चुनौति दिने छन् ।

त्यसो त गुल्मीका हाइड्रो इन्जिनियर अक्सफोर्ड युनिर्भसिटीबाट डिग्री लिएका सागर ढकाल पनि प्रधानमन्त्री देउवालाई चुनौति दिन डडेल्धुरा पुगेका छन् । स्वतन्त्र उम्मेरको प्रभाव कस्तो रहनेछ त्यो अहिले नै आंकलन गर्न छिटो हुनेछ, तर, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको खासै प्रभाव देखिएन । अजयमेरु गाउँपालिकाको ३ नम्बर वडा र भागेश्वरी गाउँपालिकाको १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अमरगढी नगरपालिकाको ७ र ९ नम्बर वडामा स्वतन्त्र उम्मेदवार निकटम प्रतिद्वन्द्वी रहेका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको डडेल्धुरामा नेपाली कांग्रेससँग २१ हजार ७ सय ३५, माओवादीसँग १२ हजार ८ सय ७८, एमालेसँग १० हजार ४ सय ४९, नेकपा एससँग ५ हजार ४१, राप्रपासँग ७ सय १४ र जसपासँग १ सय ५६ मत रहेको छ । यहाँ नेपाली कांग्रेस (बीपी) ले प्राप्त गरेको मत उल्लेख छैन । नेपाली कांग्रेस बीपीले अमरगढी नगरपालिका र गन्याधुरा गाउँपालिकाको एक–एक वडामा वडाध्यक्ष जितेको छ । अमरगढी नगरपालिकाको नेपाली कांग्रेसबाट मेयर पदमा निर्वाचित डिल्लीराज जोशीभन्दा १ सय ९३ मत कम ल्याएर उपविजेता बनेका हरिप्रसाद भट्टलाई नेपाली कांग्रेस (बीपी) ले उम्मेदवार बनाएको थियो ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट २०४८ सालदेखि जित्दै आएका छन् । गत आम निर्वाचनमा पनि देउवाले २८ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका थिए । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए । डडेल्धुरामा कांग्रेस र कम्युनिष्ट मात्र चुनावमा होमिएका थिए । त्यत्ति हुँदा पनि देउवाले ठूलै मतान्तरले चुनाव जितेका थिए ।

अहिलेको निर्वाचनमा परिस्थिति बद्लिएको छ । कांग्रेसको एउटा हिस्सा पार्टीबाट अलग भएको छ भने नेकपा फुटेर तीन टुक्रा भएको छ । एमाले एकापट्टि छ भने एमालेबाट टुक्रिएको एउटा हिस्सा र माओवादी एकातिर छन् । यो परिस्थितिमा आम निर्वाचनका लागि दुईवटा समूह बन्ने लगभग निश्चित जस्तै छ ।

एउटा समूह सत्तारुढ गठबन्धन हुनेछ भने अर्को एमाले र कांग्रेसबाट अलग भएको समूह गठबन्धन गरेर निर्वाचनमा होमिने छन् । यो दुईवटा समूह निर्वाचनमा होमियो भने यदि बाहिर शक्तिको प्रभाव देखिएन भने स्वतन्त्र उम्मेदवारलाई अस्तित्व रक्षा गर्न ठूलै संघर्ष गर्नुपर्ने हुन्छ । तर स्वतन्त्र उम्मेदवारको हुइम चलेको हुनाले कुन बेला के हुन्छ त्यो अहिले नै विश्लेषण गर्न हतारो हुनेछ ।

दुई राजनीतिक दल गठबन्धन गरेर चुनावी मैदानमा आए भने सत्तारुढ गठबन्धनको तर्फबाट प्रधानमन्त्री देउवा उम्मेदवार बन्नु कुरामा कुनै सन्देह छैन । प्रधानमन्त्री देउवालाई चुनौति दिन आफ्नै कार्यकर्ता कर्ण मल्ल एमालेको समर्थनमा चुनावी मैदानमा हुनेछन् ।

प्रदेशमा दुवै सिट कम्युनिष्टहरुलाई सुम्पेर भए पनि प्रधानमन्त्री देउवा चुनाव नहार्ने रणनीति बनाउँदै छन् । प्रदेश (क) यदि गठबन्धनमा सहमति बन्यो भने देउवाले कांग्रेसबाट गोविन्द बोहरालाई अघि सार्ने बताइएको छ । यो माओवादीको दाबीलाई स्वभाविक मानिएको छ । माओवादीले सम्भवतः खगराज भट्टलाई अगाडि सार्ने बुझिएको छ । भट्ट तिनै उम्मेदवार हुन् जो देउवासँग संघीय निर्वाचनमा तीन पटक पराजित भइसकेका छन् । प्रदेश (ख) मा ५१ सदस्यीय एमाले जिल्ला कमिटीबाट ४० जना लिएर समाजवादीमा प्रवेश गरेका डा. तारा जोशी उम्मेदवार बन्ने सम्भावना बलियो छ ।

यता, कर्ण मल्लले प्रदेश (क) मा एमालेलाई छाड्ने बताइएको छ । उक्त क्षेत्रमा एमालेले पुरानै प्रदेश सांसद पठानसिंह बोहोरालाई उम्मेदवार बनाउने सम्भावना छ भने प्रदेश (ख) मा नेपाली कांग्रेस (बीपी) का जिल्ला अध्यक्ष तिलक हमाल उम्मेदवार बन्ने सम्भावना बलियो छ ।

जति नै गठबन्दन गरे पनि, स्वतन्त्र उम्मेदवारको हौवा फैलाए पनि नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई डडेल्धुराबाट पराजित गर्न असम्भव प्रायः रहेको विश्लेषकहरु बताउँछन् ।