ग्रेटर नेपाल

ग्रेटर नेपाल

बिचरा भारत, यति लामो सङ्गत गरेर पनि नेपालीलाई चिन्न सकेन । विशाल नेपाल, जिन्दावाद !



सायद तीन महिना भो क्यार, मलाई यस तिहाड जेलमा सारेको तर यति दिन भो भनेर ठ्याक्कै भन्न पनि सक्दिनँ । यो काल कोठरीमा दिनरात छुट्टयाउन पनि मलाई गाह्रो छ । आठबाइ चारको यो अँध्यारो कोठामा ४० वाटको यही बत्ती नै मेरो घाम र जून हो । मलाई कसैसँग भेट्न दिइएको छैन । पत्रपत्रिका पढ्नबाट पनि बञ्चित छु । समय समयमा विपश्यना ध्यान गरिरहने मान्छे यो स्थितिलाई त्यति असहज मानेको छैन । बाहिरको माहौल कस्तो छ ? के भैरहेको छ ? बिल्कुलै बेखबर छु । प्रधानमन्त्री कन्हैया कुमारको ताजा अवस्था के हो ? जान्न उत्सुक छु । खाना, चिया दिने बेला चौकिदारसँग संवाद गर्न खोज्छु । ऊ मेरो कुनै पनि कुराको जवाफ दिँदैन ।

“हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस जे भए पनि कुनै एउटा पत्रिका ल्याइदेऊ भाइ, तेब्बर पैसा दिउँला ।” न त्यो चौकिदार केही बोल्छ, न त पत्रिका नै आउँछ । फेरि पनि आफ्नो माग राखिरहन्छु ।

त्यो घटनापछि विश्व समुदायले कस्तो प्रतिक्रिया जनायो होला । चिनले स्वतन्त्र बृहत् नेपालको आन्दोलनप्रति खुलेर समर्थन जनायो होला या अझै उस्तै मौन होला ? विशेषतः संगठित भइनसकेको स्वतन्त्र बृहत् नेपाल चाहने ठूलो जमातलाई यो घटनाले कस्तो प्रभाव पार्‍यो होला ? यस्तै थुप्रै जिज्ञासाहरू थिए । ठ्याक्कै यस्तै भैराखेको छ भन्ने कुरा जान्न नपाएपछि म अनुमान गर्दै बस्नुबाहेक अरु के नै गर्न सक्थे र ?

जेल जीवन एक रसको छ । खाना पनि उस्तै निरस । खानामा रोटी, दाल, सब्जी र कहिलेकाँही कुखुराको डेढ चोक्टा मासु आउँछ । ४० वर्ष कटेपछि मैले धुमपान, मद्दपान, मासुहरू खान छोडेको छु । माछा भने हप्तामा एक पटक खाने गरेको छु । भनौं न कमसे कम हप्तामा एक पटक माछाचाँहि खानै पर्ने ‘लत’ झैं भएको छ । यहाँ मलाई कस्ले देओस् माछा । तीन महिना नै भयो माछा नखाएको । एक डेढ महिना आफैलाई त्यस्तो खास माछा खान मन लागेन तर केही दिनयता माछा खान मन लागेर ‘सिक’ जस्तो भएको छु ।

आज सात तारिख रहेछ । सिदा स्वरूप केही रकम आएको थियो । हातमा पैसा परेको दिन माछा खाने खुब इच्छा जागेर आयो । तर, कल्ले ल्याइदिएर खानु र माछा ? एउटा माध्यम त्यही एउटा चौकिदार हो तर ऊ कठोर छ । ऊ पत्रिका मरिगए ल्याइदिँदैन, माछा के ल्याइदेओस् ? फेरि पनि सेल भित्रबाट चिच्याउँछु, “ओ, सन्तरी भाइ ! बाहिरबाट ४ पिस तारेको माछा ल्याइदिनोस् न । आज सिदा आएको दिन माछा खानु पर्‍यो । म हजुरलाई १०० रुपिँया सर्भिस चार्ज दिउँला ।”
उसको कुनै जवाफ आउँदैन ।
… … …. ……. ……. …….

आफू बस्ने सेलको सरसफाइ गरिसकेपछि दरीमाथि यसो पल्टेको भुसुक्कै निदाएछु । चौकिदारले सेलको फलामे डण्डीमा लठ्ठीले खाना दिने बेलामा जस्तै ‘ठक’ ‘ठक’ पार्दा पो ब्युँझिएँ । खाना बाँड्ने बेला भैसके जस्तो त लाग्दैन, के परेछ ? जेल सरुवा गर्ने पो हो कि ? कि फेरि मुद्दा ब्युँतिएर मृत्युदण्ड कै फैसला नै पो भो कि ? सोंच्दै आँखा मिच्दै उठेर बसें।
‘ठक’ ‘ठक’ फेरि उसै गरी चौकिदारले डण्डा बजा¥यो ।
“हजुर, हजुर भाइ !” भन्दै म बारतिर गएँ ।
“ए, लेलो भाइ !” भन्दै चौकिदारले सानो रोल गरेको पत्रिका बारबाट छिराइदियो ।
“अरे वा ! धन्यवाद भाइ, धन्यवाद ।” यति धेरै पछि पत्रिका पढ्न पाइने भो भनेर म दङदास भएँ । र हतार हतार रोल गरेको पत्रिका हातमा लिएँ । फेरि भने, “भाइ म तपाईंलाई यस्को १०० रुपिँया दिन्छु है ।” रोल गरेको पत्रिका लिइसकेपछि थाहा भो, यो रोल गरिएको पत्रिका होइन रहेछ । बरु भित्र भएको केही चिजलार्ई पत्रिकाले बाहिरबाट रोल गरिएको रहेछ । खोलेर हेर¸, सिङ्गै तारेको ‘सालमन’ माछा रहेछ ।
“वा, वा !” मुखमा रसाएको पानी भिजेको शब्द बाहिर आयो । “फेरि पनि धेरै धेरै धन्यवाद भाइ !” कृतज्ञ हुँदै मैले भनें ।
ऊ चुपचाप थियो ।
“यो माछाको पैसा चाहिँ कति नि भाइ ?” खल्तीबाट १००/१०० का चारओटा नोट झिकेर ऊतिर बढाउँदै भनें।
“पैसा पर्दैन !” ऊ मेरो सेलबाट अलि पर सधै उभिने ठाँउमा गैसकेको रहेछ । मतिर नहेरीकनै उसले हिन्दीमा भन्यो ।
“त्यसरी कहाँ हुन्छ भाइ ? तपाईंले पैसा लिनै पर्छ । साहिँली औँला र चोर औँलामा पैसा च्यापिराखेको दाहिने हात बारबाट छिराएर उतिर तन्काउँदै भन¸ ।
“यो मेरो घरमा बनेको माछा हो । आज मेरो बाबाको पुण्य तिथि हो, मेरो बाबाको लागि प्रार्थना गर्दिनुभए हुन्छ । पैसा पर्दैन ।” उसले यसो भने पछि म अरू बोलिनँ ।

अब म बिस्तरामा बसेर पकापक बोनलेस ‘सालमन’ माछा खान थालें । २ मिनट मै २ ओटा माछा खाई सिध्याएँ । माछाको भोक सकाइसकेपछि भित्तामा अडेस लगाएर बसी माछा रोल गरेर ल्याएको, तारेको तेलले गर्दा लपक्कै भिजेको पत्रिकाको टुक्रा हेर्न थालें ।

२०५० जुलाई १० तारिख अर्थात् अस्ति बुधवार प्रकाशित ‘नवभारत दैनिक’ पत्रिकाको एउटा टुक्रा रहेछ । एकापट्टि अविवाहित सलमान खानको निधनपछि एकजना व्यक्तिले आफैले आफैलाई सलमान खानको छोरा भएको दावी गरेको समाचार थियो । अर्कोपट्टि नेपाललाई जनमत संग्रह गराएर भारतमा विलय गराएको ठिक तीन वर्षपछि सगरमाथालाई ‘नेहरू पिक’ नामकरण गर्नको लागि सगरमाथा बेसक्याम्पमा आयोजित समारोहमा सरिक प्रधानमन्त्री कन्हैया कुमारमाथि बम प्रहारपछि ग्रेटर नेपाल आन्दोलन सन १९५० अघिको सबै भूभागमा झन चर्कदै गएको, यस आन्दोलनको नेतृत्व सिद्धार्थ काउछाले गरेको भन्ने खबर थियो ।

भारत नेपाललाई अस्थिर बनाएर आफूमा आश्रित गराई आफू अनुकूल चलाई राख्ने नेहरूको पालादेखिको नीतिमा चलिरहेको थियो । खासमा भारतको अभिष्ट नेपाललाई भारतमा विलय गराउनु नै थियो । त्यसको पक्का पूर्वाधार नागरिकता विधेयकले तयार पारेको थियो । अन्ततः भारत आफ्नो उद्देश्यमा सफल भएरै छाड्यो । सगरमाथा वेसक्याम्प बमकाण्ड त्यसैको परिणाम थियो ।

“भारतका कठपुतली दलहरूले नागरिकता विधेयक पारित गराइहाले । नेपाललाई भारतले गाभेरै छोड्ने भयो ।” मैले चिन्ता व्यक्त गर्थें।

“बाबा हामीले यो बारेमा धेरै सोंच्ने हैन, नेपाल भए पनि हामीले व्यवसाय गर्ने हो, भारतमा विलय भए पनि हामीले व्यवसाय नै गर्ने हो, हामीलार्ई यसले के फरक पार्छ र ? अहिले हामीले “मगर्स किचन”को बारेमा मात्र सोंच्ने हो ।” त्यस्तो कुरा गर्ने मान्छेले अहिले आएर देश पहिले भन्ने सोंचेकोमा मलाई यो कालकोठरीमा पनि औधी आनन्द महसुस भयो ।

हुन सक्छ, ७३ वर्षे आफ्नो बाबुले देशको स्वतन्त्रता संग्रामको लागि प्रधानमन्त्रीमाथि बम हान्ने साहस गरेकोले पनि उसलाई प्रेरणा जागेको होस् । खैर, प्रधानमन्त्री कन्हैया कुमारको बारेको खबर त्यो टुक्रामा कतै भेटिन । मलाई अझै प्रधानमन्त्री कन्हैया कुमारको चिन्ता थियो ।

हो, मैले प्रधानमन्त्रीलाई बम हानेकै थिएँ तर मेरो उद्देश्य उनको हत्या गर्ने नभएर आन्दोलनलाई ऊर्जा पुग्ने गरी काण्ड घटाउनु थियो । तर निशाना भुलचुक हुँदा उनी अलि गम्भीर घाइते भएका थिए । ७३ वर्ष पुगिसकेको मलाई मृत्युदण्डको कत्ति डर थिएन । मानवताको नाताले उनको सलामती चाहन्थें म ।

‘उनलाई केही नहोस् ।’ पत्रिकाको टुक्रा कच्याक कुचुक पारेर कुनातिर मिल्काउँदै सोंच्छु र सोंच्छु, ‘भारतले नेपालप्रति गलत नीति र कन्हैया कुमारले गलत निर्णय नलिएको भए, यस्तो त हुन्नथ्यो ।’

जे हुनु भैसकेको थियो र अब जे हुने छ, त्यो भएरै छाड्ने छ । बिचरा भारत, यति लामो सङ्गत गरेर पनि नेपालीलाई चिन्न सकेन । विशाल नेपाल, जिन्दावाद !