अध्यक्ष लिङ्देन संसदीय दलको नेता नबन्ने पक्का

अध्यक्ष लिङ्देन संसदीय दलको नेता नबन्ने पक्का



काठमाडौं । आपसी द्वन्द्वले अस्तित्व नै संकटमा परेको पूर्वपञ्चहरुको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई अध्यक्ष राजेन्द्र लिङ्देनले जगाए । उनले राप्रपालाई राष्ट्रिय पार्टी मात्र बनाएनन्, संसदमा गरिमामय उपस्थिति गराए । तर उनको यो मेहेनत ओझेलमा पर्ने संकेत देखिन थालेका छन् ।

प्रत्यक्ष ७ सिट जितेको राप्रपाले सम्भवतः समानुपातिकमा पनि ७ सिट पाउन सक्छ । संसदमा १४ सिट हुने राप्रपामा अध्यक्ष लिङदेनलाई संसदीय दलको नेता बन्न नदिने खेल सुरु भएको छ । लिङ्देनको सट्टा पशुपतिशमशेर जबरा संसदीय दलको नेता बन्न खुट्टा उचालिसकेका छन् । अध्यक्ष लिङ्देनको नेतृत्व स्वीकार नगर्नेहरुले पशुपतिशमशेरलाई अगाडि सारेका हुन् ।

सहमतिमा मात्र अध्यक्ष लिङ्देनलाई संसदीय दलको नेता बन्न सम्भव हुन्छ । यदि संसदीय दलको चुनाव भयो भने उनी अल्पमतमा पर्ने निश्चित छ । प्रत्यक्ष निर्वाचन जितेका सातमध्ये चार जना पशुपतिशमशेरलाई संसदीय दलको नेता बनाउनुपर्ने लाइनमा देखिएका छन् । धवलशमशेर जबरा, दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, दिपक बोहोराले अध्यक्ष लिङ्देनको सट्टा पशुपतिशमशेरलाई संसदीय दलको नेता बनाउने तयारी थालेका छन् ।

राप्रपाले समानुपातिकबाट ७ सिट प्राप्त गरे ४ महिला अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसपछि बाँकी रहेको तीनजनामा खस आर्य, जनजाति र मधेशलाई समेट्नुपर्ने हुन्छ । रोलक्रमअनुसार चार महिलामध्ये पहिलो नम्बरमा रहेकी रोशन कार्की, गीता बस्नेत, बिना लामा र अनिसा परियार सांसद बन्न सक्छन् । लामा जनजाति महिला र परियार दलितबाट सांसद बन्न सक्छन् । बाँकी रहेका तीन पुरुषमध्ये खस आर्यबाट पशुपतिशमशेर, जनजातिबाट बुद्धिमान तामाङ र मधेशी समुदायबाट प्रल्हादप्रसाद साह सांसद बन्न सक्छन् ।

यी सातमध्ये अध्यक्ष लिङ्देनलाई संसदीय दलको नेता बनाउनुपर्छ भन्ने तीनजना मात्रै देखिएका छन् । प्रल्हादप्रसाद साह, अनिसा परियार र गीता बस्नेत मात्र अध्यक्ष लिङदेनको पक्षमा उभिन सक्छन् । रोशन कार्की, बिना लामा, बुद्धिमान तामाङ पशुपतिशमशेरको पक्षमा उभिने पक्का छ ।

यदि संसदीय दलको निर्वाचन भयो भने १४ सांसदमध्ये ८ जना पशुपतिशमशेरको पक्षमा उभिने स्पष्ट देखिएको छ । ६ जना मात्र सांसद अध्यक्ष लिङ्देनको पक्षमा देखिएका छन् ।

अध्यक्ष लिङ्देनकै मेहेनत र समन्वयबाट राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः जागेको हो भन्ने चेतना सांसदहरुमा पलायो भने मात्र लिङ्देन सर्वसम्मत संसदीय दलको नेता बन्न सक्छन् । पार्टीका सिनियर नेता पशुपतिशमशेर हुँदाहुँदै लिङ्देनलाई नेता नमान्ने भन्ने दम्भ पालायो भने राप्रपाभित्र फेरि द्वन्द्व चर्किने निश्चित छ ।