मुटुको रोगी देउकुमारलाई उपचार खर्च सहयोग

मुटुको रोगी देउकुमारलाई उपचार खर्च सहयोग


ग्लोब नेपाल
108
Shares

खोटाङ । मुटुसम्वन्धी समस्याले ग्रसित खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाका २२ वर्षीय देउकुमार राईलाई उपचार सहयोग जुटेको छ । हाल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचार गराइरहेका देउकुमारका लागि चिसापानी घर भई हाल यूके रहेका भूपू गल्लावाल समाजसेवी टंकबहादुर राईको पहलमा एक लाख १० हजार ९०० रुपैयाँ सहयोग जुटेको हो । 

आफ्नै गाउँठाउँका युवालाई मुटुको समस्या भएपछि उपचारका लागि अस्पताल पुगेको खबर सुनेपछि भूपू गल्लावाल राईले आफू, आफ्नो आफन्त र अन्य सहयोगीबाट उपचार खर्च उठाएर पठाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए ।

सिंगापुर प्रहरीबाट अवकाश लिएर केही दिनका लागि नेपाल आएका समाजसेवी सन्तोष राईले उक्त रकम अस्पतालमै पुगेर देउकुमारलाई हस्तान्तरण गरेका छन् । सानैदेखि मुटुको समस्याले पिडित देउकुमारलाई थप समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएको हो ।